२०८१ जेठ ५, शनिबार    

पशुपतिमा अनलाइनबाटै पूजा गर्न सकिने, घर-घरमा प्रसाद डेलिभरी

२०७८ फाल्गुन १७, मंगलबार १४:२० बजे

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा ‘ई-पूजा’ सेवा सुरु गर्ने भएको छ । कार्य व्यस्तता तथा अशक्तताका कारण चाहेर पनि पशुपतिनाथ मन्दिरमा स्वयं उपस्थित भएर पूजा गर्न आउन नसक्ने भक्तजनलाई ध्यानमा राख्दै विकास कोषले यो सेवा सञ्चालनमा ल्याउन लागेको हो ।

कोषका अनुसार भक्तजनहरुले संसारका जुनसुकै स्थानबाट अनलाइन बुकिङमार्फत पशुपतिनाथमा दैनिक रुपमा सञ्चालन हुने पूजा सजिलैसँग गर्न सक्नेछन् ।अनलाइनबाट बुकिङ गरिएको पूजाको सम्पूर्ण आवश्यक जानकारी तथा रसिद सम्बन्धित भक्तजनलाई ईमेलमार्फत प्रदान गरिने जनाइएको छ ।
 
साथै विशेष पूजाको प्रसाद विश्वका जुनसुकै स्थानमा कुरियर गर्ने व्यवस्था समेत रहेको छ । अनलाइन मार्फत भक्तजनहरूले पञ्चामृत पूजा, बालभोग सहित पञ्चामृत पूजा, रुद्रभिषेक र बालभोग सहित पञ्चामृत पूजा, लगुरुद्रभिषेक र पुराभोग सहित पन्चामृत पूजा, रुद्रभिषेक, पुराभोग, सवा लाख बत्तीद्वारा आरती, विशेष पूजा लगायतका पूजा गर्न सक्नेछन् ।
 
भक्तजनले अनलाइनबाट ११ सय रुपैयाँदेखि आठ लाख एक रुपैयाँसम्मको पूजा गर्न सक्नेछन् । पशुपतिनाथको ई-पूजा बुक गर्न प्रयोगकर्ताले ‘श्री पशुपतिनाथ टेम्पल’ नामक मोबाइल एप डाउनलोड गरेर आफ्नो पूजाको लागि दिन र समय बुक गर्न सक्नेछन् । त्यसैगरी भक्तजनहरूले अनलाइनमार्फत नै पूजाको भुक्तानी पनि गर्न सक्नेछन् ।
 
यो एप एन्ड्रोइड र आईओएस दुवैमा उपलब्ध छ । साथै पशुपति क्षेत्र विकास कोषको आधिकारिक वेबसाइटबाट पनि यो सेवा लिन सकिन्छ ।केही प्राविधिक तयारी सम्पन्न भएपछि यो सेवा छिट्टै सञ्चालनमा आउने जनाइएकाे छ ।