२०८१ बैशाख १७, सोमबार    

हेटौंडाको पहिलो कार्यपालिका बैठकमै एमाले अनुपस्थित

२०७९ जेठ १९, बिहीबार २०:५३ बजे

स्थनीय तहको निर्वाचनपछि बोलाइएको हेटौंडा उपमहानगरपालिकाको पहिलो कार्यपालिका बैठकमा नेकपा एमाले अनुपस्थित भएको छ ।

कार्यपालिकामा बहुमत रहेका कारण भौतिक उपस्थित जनाएको एमालेका कार्यपालिका सदस्यहरुले बैठक पुस्तिकामा उपस्थिति हस्ताक्षर नगरेका हुन् । उपमहानगरकी मेयर मीनाकुमारी लामाले अघि बढाएको विपन्नलाई निःशुल्क खानेपानी र विद्युतको योजनाको स्रोत सुनिश्चितता गर्न दबाब दिँदै एमालेले बैठकमा अनुपस्थित भएको हो ।

एमालेका सदस्यहरु अनुपस्थितका कारण बिहीबार बिहान ८ बजे बोलाइएको बैठक स्थगित गरिएको थियो । पहिलो बैठकनै बस्न नसकेपछि मेयर लामाले साँझ ५ बजेका लागि बैठक बोलाएकी थिइन् । एमालेका सदस्यहरु ५ बजे भौतिक रुपमा पनि उपस्थित भएनन् ।

एमालेकै कारणले कार्यपालिका बैठक बस्न नसक्दा महत्वपूर्ण निर्णय अघि बढाउन समस्या भएको मेयर लामाले बताइन् । उनले एमालेले राखेको मागबारे आफुले नेतृत्व तहमै जानकारी गराइसकेको बताइन् ।  विपन्नलाई निःशुल्क दिइने खानेपानी, विद्युतको स्रोत सुनिश्चितताबारे योजनागत रुपमै ल्याइसकेको उनको भनाइ छ । ‘मैले स्रोत सुनिश्चितताको अध्ययन गरेर सबै बताइसकेको छु । जनताको सेवा गर्ने, जनताका अपेक्षा पूरा गर्ने सवालका एजेण्डालाई मुख्य विषय बनाएर बैठकनै संचालन हुन नदिनु दुःखद् हो ।’ उनले भनिन्, ‘अब हामी कार्यपालिका बैठक संचालन कार्यविधि अनुसार अघि बढ्नेछौं ।’

एनले कार्यपालिका वैठक राख्ने विषयमा नेकपा एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठसँग दुईपटक कुराकानी गरेको बताइन् । ‘अब हामी पुनः वैठक बोलाउने छौं । कानुन अनुसार हामी अगाडि बढछौं । तीन दिनपश्चात् अर्को वैठक बोलाउने छौं ।’, उनले भनिन् ।