२०८१ बैशाख १७, सोमबार    

व्यापार घाटा कम गर्न विद्युत उत्पादन बढाऔं : बानियाँ

२०७९ माघ २७, शुक्रबार १३:३७ बजे

नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले व्यापार घाटा कम गर्न विद्युतको उत्पादन बढाउन जरुरी रहेको औंल्याएका छन् ।

नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ वाग्मती प्रदेशको भेला तथा अन्तर्क्रियालाई सम्बोधन गर्दै उनले बढ्दो व्यापार घाटालाई न्यूनीकरण गर्न विद्युत् उत्पादन र प्रयोग बढाउन जोड दिएका छन् ।

‘देशको आर्थिक अवस्था कमजोर भएको छ । यसको मुख्यकारण व्यापार घाटा हो । पेट्रोलियम पदार्थको मूल्य बढ्दो अवस्थामा रहेको छ । यसलाई विस्थापित गर्ने उपाय भनेको विद्युतीय उत्पादन बढाउनु नै हो ।’, उनले अब ग्यासको सट्टामा घरघरमा इण्डक्सन चुलोको प्रयोग गर्न आव्हान समेत गरेका छन् । उनले देशमा विद्युतको उत्पादन बढाउन सरकारले वर्षेनी लगानी बढाइरहेको र अब निर्यात नै गर्ने गरी काम गर्न जरुरी रहेको बताए ।

कांग्रेस मकवानपुर सभापति बुद्ध लामाले प्राधिकरणले समाजलाई नै उज्यालो पार्ने काम गरेकोभन्दै प्रशंसा गरे । उनले त्यहाँ कार्यरत् कर्मचारीको समस्या समाधान गर्न आफ्नो तर्फबाट खेल्ने भूमिका निर्वाह गर्न तयार रहेको समेत बताए ।

प्रदेश सभापति उमाकान्त गौतमको सभाध्यक्षतामा भेला भएको हो । भेलामा बोल्ने अधिकांश कर्मचारीले आधिकारीक ट्रेड युनियन स्थापना तथा मजदुरको पारिश्रमिक र सुखद् भविष्यको विषयमा आन्दोलन गर्न जरुरी रहेको औंल्याएका थिए ।