२०८१ बैशाख ७, शुक्रबार    

पत्रकारलाई कैद नहुने, रजिष्ट्रारको अधिकार नखोसिने

२०७९ असार ३२, शनिबार १६:२३ बजे

वाग्मती प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन र नियमावली बिपरित कार्य गर्ने सञ्चार माध्यम र पत्रकारलाई एक बर्षसम्म कैद गर्ने व्यवस्था हटाइने भएको छ ।
सरकारले सञ्चार रजिष्ट्रारको अधिकार कटौती गर्ने गरी प्रदेशसभामा पेश गरेको प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन–२०७५ संशोधन गर्न बनेको बिधेयकमाथि प्रदेश मामिला समितिमा भएको छलफलबाट कैदको व्यवस्था हटाउन र रजिष्ट्रारको कटौती नगर्ने निर्णय भएको हो । ‘समितिले कैदको व्यवस्था हटाउने र रजिष्ट्रारको अधिकार कटौती नगर्ने गरी संशोधन विधेयक प्रदेशसभामा पेश गर्नेछ ।’, प्रदेश मामिला समितिका सभापति माधव पौडेलले भने ।

प्रदेशसभाबाट अव पारित हुने संशोधित ऐनमा कैद सजाय रहने छैन, जरिवाना मात्रै रहनेछ । एक पटक कारवाहीमा परेको सञ्चार माध्यमले पुन : सोही प्रकृतिको कार्य गरेमा इजाजतपत्र वा अनुमति पत्र रद्द गर्न मन्त्रालयमा पठाउने प्रस्तावित व्यवस्थालाई पनि समितिले हटाएको छ । त्यस्तो सञ्चार संस्थाको अनुमति पत्र रद्द गरी चार बर्षसम्म प्रदेश भित्र कुनै पनि किसिमको सञ्चार माध्यम सञ्चालन गर्न नपाउने प्रस्तावित व्यवस्थालाई पनि समितिले हटाएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सञ्चार रजिष्ट्रारले प्रयोग गर्दै आएको अधिकार कटौती गरी कर्मचारीलाई सहरजिष्ट्रार बनाएर अधिकार केन्द्रित गरेर संशोधन विधेयक प्रदेशसभामा टेवल भएको थियो । सञ्चार क्षेत्रबाट संशोधनका लागि प्रदेशसभा टेवल भएको विधेयकको चौतर्फी विरोध भएपछि प्रदेश मामिला समितिले कैदको व्यवस्था हटाउने र सञ्चार रजिष्ट्रारको अधिकार कटौती नगर्ने निष्कर्षमा पुगेको हो । प्रदेशसभाले उक्त संशोधन बिधेयकमाथि छलफल गरी पेश गर्न प्रदेश मामिला समितिमा पठाएको थियो ।

प्रदेश मामिला समिति सभापति पौडेलको अध्यक्षतामा हेटौडामा बसेको बैठकले प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐनको मूल मर्म र भावना विपरित कैदको व्यवस्था रहेको र सञ्चार रजिष्ट्रारको अधिकार खोसेर कर्मचारीमा सुम्पने नरहेको ठहर गरेको हो । प्रस्तावित विधेयकमा सञ्चार रजिष्ट्रारले अभ्यास गर्दै आएका सात वटा अधिकार खोसेर कर्मचारीलाई सुम्पने व्यवस्था गरिएको थियो ।

दैनिक एवम् प्रशासन हेर्ने प्रशासकीय प्रमुखको रुपमा कम्तिमा नवौ तह वा सो सरहको एक निर्देशक रहने तर नवौ तह वा सो सरहको कर्मचारी उपलब्ध नभएमा मन्त्रालयको बरिष्ठ अधिकृतस्तरको कुनै कर्मचारलिाई निर्देशकको रुपमा जिम्मेवारी तोक्न सक्ने व्यवस्था प्रस्तावित विधेयकमा गरिएको थियो ।
सञ्चार रजिष्ट्रार कार्यालयको दैनिक प्रशासनिक तथा आर्थिक कार्य गर्ने गराउने, कार्यालयको नीति तथा कार्यक्रम, बजेट तर्जुमा गरी स्वीकृतिको लागि सञ्चार रजिष्ट्रार समक्ष पेश गर्ने, बजेट खर्च गर्ने, खर्चको लेखा राखेर लेखा परिक्षण गराउने, पत्रपत्रिका, अनलाइन सञ्चार माध्यम, रेडियो, टेलिभिजन, केवल टेलिभिजनको दर्ता, अनुमतिपत्र, नवीकरण, वर्गीकरण, खारेजी, नियमनका लागि सञ्चार रजिष्ट्रारलाई सहयोग गर्ने, मन्त्रालय एवं सञ्चार रजिष्ट्रारबाट प्राप्त निर्देशन एवम् निर्णयको कार्यान्वयन गर्ने गराउने, आफूलाई प्राप्त अधिकार मातहतका अन्य कर्मचारीलाई प्रत्यायोजन गर्ने, तोकिएका अन्य कार्य गर्ने जिम्मेवारी निर्देशक कर्मचारीलाई दिन प्रस्ताव गरिएको थियो ।

प्रदेशमा सञ्चार रजिष्ट्रारको नियुक्ति र कार्यालय स्थापनापछि शुरु भएको सेवा प्रवाहबाट सेवा लिने सेवाग्राहीको संख्या एकहजार भन्दा बढी भइसकेको छ । सञ्चार रजिष्ट्रार कार्यालयले करीव एक सय वटा एफ रेडियो र ३७ वटा केवल टेलिभिजनको नियमन तथा नवीकरण गर्दै आएको छ । प्रदेशमा एक सय ३१ वटा अनलाइन सञ्चार माध्यम अभिलेखीकरण भएका छन् । सात सय भन्दा बढी पत्रकार परिचयपत्र बागमती प्रदेशबाट जारी भएका छन् । प्रदेशका सूचना एकद्धार प्रणालीबाट नागरिकले प्राप्त गर्ने गरी सञ्चार रजिष्ट्रार कार्यालयले सूचना बैंक सञ्चालन गरेको छ ।

कार्यालयले करीव दुई सय जना पत्रकारलाई क्षमताबृद्धिका आधुनिक तालिम सञ्चालन गरेको छ । मुलुक प्रादेशिक संरचनामा गएपछि सञ्चारको क्षेत्रमा संघीयताको पहिलो अभ्यास गर्ने बागमती प्रदेश हो । बागमती प्रदेशमा भएका सकारात्मक कार्यले अन्य प्रदेशमा बागमती प्रदेशको जस्तै कानून बनाउने प्रक्रिया शुरु भएको छ । लुम्बिनी प्रदेशसभाबाट सञ्चार सम्बन्धी कानून पारित भएको छ । लुम्बिनी प्रदेशमा सञ्चार रजिष्ट्रार नियुक्तिको प्रक्रिया अगाडि बढदैछ ।