२०८१ बैशाख २२, शनिबार    

मकवानपुरका फुर्वाको हनी ट्र्याप : सम्पत्ति कुम्ल्याउन पटकपटक विवाह र सम्बन्धविच्छेद !

२०७९ असार १४, मंगलबार १२:३५ बजे

मकवानपुरमा जन्मिई रौतहटमा बसाइसराई गरेका ३४ वर्षीय फुर्वाको मलेसियामा रेस्टुरेन्ट व्यवसाय थियो । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका फुर्वाले त्यहाँ आफ्नै रेस्टुरेन्ट सञ्चालन गरेर बसेका थिए । व्यवसायसँगै उनले मलेसियामा समस्यामा परेका युवायुवतीको उद्धार लगायतका काममा पनि सहयोग गर्थे ।


भावनाको म्यासेजलाई फुर्वाले सुरुमा सामान्य रूपमै लिँदै कुराकानीलाई निरन्तरता दिए । कुरा अघि बढ्दै गएपछि फुर्वाले आफू विवाह गर्न लागेको र राम्री युवतीको खोजीमा रहेको कुरा भावनालाई सुनाउँछन् । उता भावनाले पनि आफ्नो विवाह गर्ने उमेर भएको कुरा राख्छिन् । त्यति बेला भावनाले आफू २०४६ सालमा जन्मिएको र उमेर ३१ वर्ष पुगेको बताएकी थिइन् ।


दुवै तामाङ परिवारका थिए । फुर्वाले पनि कुण्डली हेरेर सबै कुरा मिले विवाह गर्ने प्रस्ताव गरे । भावनाले पनि हुन्छ भन्ने जवाफ दिइन् । जनवरीबाट सुरु भएको कुराकानी फेब्रुअरीमा प्रेम र विवाहसम्मको कुराकानी भइसकेको थियो । दुवै जना विवाह गर्ने तयारीमा पुगे ।


तर भावनाले आफूलाई ढाडमा समस्या भएकाले काम नगरेको तर आफ्नो व्यापार भाइहरूले हेरिरहेको बताइन् । उनले आफूले काम नगरेकाले तत्काल आफूसँग त्यति धेरै रकमसमेत नभएको बताइन् । मलेसियामा राम्रो व्यवसाय गरिरहेका फुर्वाले तत्कालै भावनाका लागि भन्दै नेपालमा रहेकी उनकी आमाको नाममा ८ लाख पठाइदिए ।


फुर्वाले प्रेम दिवस अर्थात् फेब्रुअरी १४ तारेखका दिन विवाह गर्न अनुरोध गरे । सुरुमा भावनाले पनि हुन्छ भनिन् । तर उक्त समयमा टिकट नपाइएको भन्दै भावना १९ फेब्रुअरी २०२१ मा मात्र नेपाल आइन् । फुर्वा भने १३ फेब्रुअरी २०२१ मै नेपाल आइसकेका थिए ।

२०७७ फागुन ७ गते नेपाल आइपुगेकी भावनाले त्यसको तीन दिनपछि अर्थात् २०७७ फागुन १० गते फुर्वासँग विवाह गरेर फुर्वाको घर भित्रिइन् । विवाहका लागि फुर्वाले दुलही भावना तामाङ, उनकी आमा, उनकी दिदी लगायतका आफन्तका लागि करिब २५ तोला सुन किने । अन्य कामका लागि भन्दै उनले करिब १५ लाख थप खर्च गरे ।

 

विवाह गरेको तीन दिन फुर्वाको घरमा बसेपछि भावना माइतीमा केही काम छ भन्दै फुर्वाको घरबाट निस्किइन् । त्यसको भोलिपल्टदेखि उनको मोबाइल अफ भयो । घरबाट निस्किएको चार दिनपछि बल्ल भावनाको मोबाइलको स्वीच अन भयो । किन अफ गरेको भन्दा माइतीमा केही काम थियो भन्ने जवाफमात्रै दिइन्, अरू केही बताइनन् ।

फुर्वाले भावनासँग विवाह गरी जापान जाने र उतै व्यापार व्यवसाय गर्ने भनेर मलेसियामा भएको दुईवटै रेस्टुरेन्ट बेचेर नेपाल आएका थिए । नेपालमा बुवाको नाममा घर र दुई स्थानमा जग्गासमेत थियो । जापान जान सम्पत्ति देखाउनुपर्ने भन्दै भावनाले बुवाको नाममा रहेको घरसमेत आफू र फुर्वाको नाममा ल्याउन लगाइन् भने जग्गासमेत बिक्री गर्ने गरी ग्राहक खोजे । भावनाको नाममा बौद्धको नयाँ बस्ती र थलीमा घर थियो । फुर्वाले ती सबै घर पनि अब आफ्नोसमेत रहेको भन्दै भावनाले जे जे भने त्यही त्यही गरिरहे । भावनाले घरसमेत बेच्ने योजना सुनाए पनि फुर्वाको बुवाले नमानेपछि त्यही घर धितोमा राखेर ऋण लिने योजना बनाइन् । फुर्वाले भावनाको त्यो योजनामा समेत साथ दिए ।

नेपाली परम्परा अनुसार विवाह गरेपछि केटाको घरमा गएर बस्ने भए पनि भावना भने फुर्वाको घरमा बस्न मानिनन् । बरु बौद्ध नयाँ बस्तीमा रहेको आफ्नै घरमा बस्न जान्थिन् । फुर्वा पनि भावनासँगै नयाँ बस्तीमै गएर बस्न थाले ।

जब फुर्वा भावनाको नाममा रहेको नयाँ बस्तीको घरमा पुगे, त्यसपछि भावनाले सम्पत्ति हाम्रै त हो, यो घरको ऋण छ तिर्नुपर्‍यो भनी फुर्वासँग पैसा मागिन् । फुर्वाले पनि भावना आफ्नो श्रीमती भएको र सम्पत्ति आफ्नो पनि त हो नि भन्दै घर बनाउँदाको ऋण तिर्न सहमत भए ।

तर जब ऋण तिर्ने बेला भयो, भावनाले ऋण संयुक्तरुपमा लिएको कुरा सुनाइन् । भावनाले धादिङ घर भएका विकाश तामाङ ९नाम परिवर्तन०लाई श्रीमान् बनाएर संयुक्तरुपमा ऋण लिएकी थिइन् । फुर्वाले यी व्यक्ति को हुन् भनेर सोध्दा भावनाले कागजी श्रीमान् भएको र जापान लैजाने प्रयोजनका लागि पैसा लिएर श्रीमान् बनाएको कुरा बताइन् । फुर्वाले त्यसबारे थप केही नबुझी उक्त घरको ऋणमध्ये २५ लाख रुपैयाँ तिरिदिए ।

भावनाले पटकपटक विभिन्न बहाना बनाएर सम्पत्ति देखाउन, सानो सानो ऋण तिर्न भन्दै पटकपटक लाखौँ रकम लिइन् । कहिले सानीआमाको ऋण तिर्नु छ भनेर त कहिले भाइ लगायतको ऋण तिर्नु छ भनेर पैसा लिएको फुर्वाले बताए ।

घरको रङ रोगन र मर्मत सम्भारमै ६५ लाख खर्च

भावना तामाङको नाममा काठमाडौंको थलीमा पनि एउटा घर थियो । उक्त घर भर्खरै बनाएको कारण बैंकबाट ऋण लिइएको थियो भने घर पनि पुरै बनिसकेको थिएन । भावनाको योजनामा फुर्वाले उक्तको बाँकी काम सम्पन्न गर्न, रङ रोगन गर्न, भान्साकोठा बनाउने लगायतका काममा थप ६५ लाख खर्च गरे ।

तर जब जब फुर्वासँग रहेको पैसा सकिन थाल्यो, त्यसपछि भावनाले विभिन्न कुरा निकालेर निहुँ खोज्न थालिन् । फुर्वाले भने, ‘जब जब मैले मलेसियाको रेस्टुरेन्ट बिक्री गरेर ल्याएको पैसा सकिन थाल्यो, त्यसपछि उनले निहुँ खोज्न थालिन् । अनि बिस्तारै मसँग टाढिन थालिन् ।’

यसबीचमा भावनाले फुर्वासँग करिब १ करोड १५ लाख नगद लिएकी थिइन् भने सुनको गरगहना लगायतका सामान बनाउने कामका लागिसमेत समेत करिब १ करोड ४५ लाख रुपैयाँ खर्च गराइसकेकी थिइन् । करिब १ वर्ष नेपाल बसेर फुर्वाको नाममा रहेको रहेको घर जग्गासमेत फुर्वा र आफ्नो संयुक्त नाममा ल्याइसकेपछि भावना २०२२ फेब्रुअरी ८ मा जापान गइन् । नेपालबाट जाँदा जापान पुगेर कागजात बनाएर पठाउने भनेकी भावना सुरुको केही दिन फुर्वासँग कुराकानी गर्ने गरे पनि त्यसपछि फुर्वासँग कुराकानी नै गर्न छाडिन् । बरु फुर्वासँग छुट्टिन चाहेको सन्देश पठाइन् । त्यसपछि मात्र फुर्वाले आफू ठगिएको थाहा पाए ।

भावनाले उमेरसमेत ढाँटेकी थिइन्

फुर्वा तामाङले सुरुमा कुराकानी हुँदा भावनाले आफ्नो उमेरसमेत ढाँटेको बताए । फुर्वाले भने, ‘मेरो ग्रहमा आफूभन्दा जेठी युवतीसँग विवाह गर्न नहुने थियो । मैले त्यही कुरा बताएपछि उनले आफ्नो उमेर ३१ वर्ष भएको बताइन् । उनले आफू २०४६ सालमा जन्मिएको बताइन् । म २०४३ सालमा जन्मिएको कारण मैले हुन्छ भने । विवाह दर्ता गर्ने बेलामा पो थाहा भयो, उनी त म भन्दा ३ वर्ष जेठी रहिछिन् ।

अविवाहित रहेको पनि झुट

फुर्वाले विवाहको कुरा गर्दा आफूले विवाह नगरेको र योग्य वरको खोजी गरिरहेको बताएकी थिइन् । फुर्वाले भने, मैले विवाहको कुरा गर्दा आफूले पनि व्यापार तथा व्यवसायको कारण विवाह गर्ने फुर्सद नै नपाएको बताइन् । मैले पनि होला भने मैले त्यति धेरै खोजतलास नै गरिनँ । अहिले उनको बारेमा बुझ्दै गर्दा थाहा भयो, उनले त पहिले नै ४ जनासँग विवाह गरिसकेकी रहिछिन् भने एक जनासँग लिभिङ टुगेदरमा बसेको पाएँ । मैले थाहा नपाएको अरू पनि छन् कि जस्तो लाग्छ ।

फुर्वासँग विवाहको एक सातापछि पतिसँग डिभोर्स !

भावना तामाङले २०७७ फागुन १० गते तामाङ परम्परा अनुसार फुर्वा मोक्तानसँग विवाह गरेकी थिइन् । विवाह गरेको भए पनि विवाहको फोटो फेसबुकमा हाल्न नदिई भावनाले सबै कुरा गुमराहमा राखेको फुर्वाले बताए । आफूसँग विवाह गरी ३ दिनपछि घरबाट निस्किएकी भावनाले त्यसको तीन दिनपछि काठमाडौँ जिल्ला अदालतमा आफ्नो पतिसँग सम्बन्धविच्छेदको फिराद लगेकी थिइन् ।

फुर्वासँग विवाह गर्नुभन्दा अगाडि भावनाले साजन मोक्तान भन्ने व्यक्तिसँग विवाह गरेकी थिइन् । तर त्यसको जानकारी फुर्वालाई थिएन । भावनाले फुर्वासँग विवाह गरेको एक सातापछि फागुन १६ गते काठमाडौँ जिल्ला अदालतमा सम्बन्धविच्छेदको फिराद दर्ता गरी २०७७ फागुन १७ गते मोक्तानसँग सम्बन्धविच्छेद गराएकी थिइन् ।