२०८० चैत्र १६, शुक्रबार    

अग्रज साहित्यकार थापालाई २ लाख सहित अभिनन्दन

२०७९ मंसिर १८, आईतबार १५:२२ बजे

मकवानपुरका अग्रज साहित्यकार तुल्सी थापालाई हेटौंडामा अभिनन्दन गरिएको छ । कवि, कथाकार, नाटककार एवम् शिक्षासेवी थापालाई बुढ्यौली साहित्य समाज मकवानपुरको दोस्रो वार्षिकोत्सवको अवसरमा नगद दुई लाख रुपैयाँसहित अभिनन्दन गरिएको हो ।

साहित्यकार थापाले मकवानपुर जिल्लामा रही लामो समयदेखि शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा पु¥याएको योगदानको कदर स्वरुप सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष आरसी रिजालले जानकारी दिए । साहित्यकार थापालाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष ललितबहादुर घलान र विशिष्ट अतिथि व्यङ्ग्यकार एवम् एजिङ नेपालका अध्यक्ष कृष्णमुरारी गौतम ‘चट्याङ मास्टर’ले नगद सहित दोसल्ला ओढाएर सम्मान गरेका हुन् । कार्यक्रममा भक्तपुरका साहित्यकार कविराज घिमिरेको ‘बुढ्यौली’ खण्डकाव्य समेत विमोचन गरिएको थियो ।

कार्यक्रममा सुर्दशन अधिकारी, निमेष निखिल, प्रताप विष्ट र पुरुषोत्तम आचार्यले सम्मानित साहित्यकार थापाले लेखेका कृति र थापाको व्यक्तित्व बारे चर्चा गरेका थिए । सोही अवसरमा बुढ्यौली साहित्य समाज मकवानपुरले साहित्यकार तुल्सी थापाको नाममा दुई लाख रुपैँयाको अक्षय कोष समेत स्थापना गरेको छ ।

कोषबाट प्राप्त हुने व्याज रकमले प्रत्येक बर्ष मकवानपुरमा रही साहित्य क्षेत्रमा कलम चलाउने एकजना साहित्यकारलाई सम्मान गरिने समाजका अध्यक्ष रिजालले बताए । थापाका ‘एक निमेष अनन्तको दाना’ (कविता सङ्ग्रह वि.सं. २०५८), ‘अमरसिंहको खोजीमा अमरसिंह (नाटक वि.सं. २०६१)’, ‘फरक आकाश’ –कथा सङ्ग्रह (वि.सं. २०७२) प्रकाशित भएका छन् । बुढ्यौली साहित्य समाजको पहिलो वार्षिकोत्सवमा साहित्यकार नवराज शर्मा र नवलपरासीका साहित्यकार दुर्गा क्षेत्रीलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । अभिनन्दन कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिने उनले बताए ।