२०८१ बैशाख २१, शुक्रबार    

अन्योलमा सत्तारुढ गठबन्धन, एमाले उम्मेदवार छान्दै

२०७९ बैशाख ४, आईतबार ०८:५४ बजे

एमालेले बागमती प्रदेशभर उम्मेदवार छनोट प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ। प्रदेशका १३ जिल्लामध्ये कतिपयले पालिका अध्यक्ष, उपाध्यक्षसहित वडाध्यक्षका उम्मेदवार सर्वसम्मत टुङ्गो लागिसकको एमाले बागमती प्रदेशका उपमहासचिव तथा प्रचार–प्रसार प्रमुख महेश बर्तौलाले बताए। सबै नाम टुङ्गो लगाएर केन्द्रीय कमिटीमा पठाउने तयारीमा रहेको उनले जानकारी दिए।

गठबन्धनका दलहरू भने अझै अन्योलमा छन्। पाँच दलभित्र भागबन्डा मिलाउन सकस हुँदा नेताहरू टिकटका लागि दौडधुमा व्यस्त छन्। चुनावका लागि बागमती प्रदेशमा सत्ता साझेदार दलको पाँचदलीय गठबन्धनमा छलफल चल्दै छ। प्रदेशको १ सय १९ स्थानीय तहमध्ये २०७४ को निर्वाचनमा काठमाडौं महानगरपालिका र हेटौंडा उपमहानगरपालिका, ३१ नगरपालिका र ३३ गाउँपालिका प्रमुख एमालेले जितेको थियो। 

कांग्रेसले जिल्लामा निर्वाचनका लागि केन्द्रीय प्रतिनिधि नै तोकेको छ। माओवादी र एमाले, नेकपा (एकीकृत समाजवादी) ले समेत उम्मेदवार छनोटमा मापदण्ड बनाएको छ। तर, अघिल्लो निर्वाचनमा विजयी भएका, नयाँ र युवा पुस्ताले आगामी निर्वाचनमा नगर तथा गाउँपालिका प्रमुख-उपप्रमुख, वडा अध्यक्ष लगायतका पदहरूमा दाबी गरेका कारण सहमति जुट्न सकेको छैन। 

काभ्रेका ६ नगरपालिका र ७ गाउँपालिकामध्ये अधिकांश पालिकाहरूका नेता टिकटका लागि अझै शक्तिकेन्द्र धाइरहेका छन्। ठूला तीन दलका नेताहरू केन्द्रीय नेताहरूकै भरमा छन्। बनेपा नगरपालिकामा एमालेबाट नगर प्रमुख निर्वाचित लक्ष्मी नरसिंह बादे श्रेष्ठ आफैं पनि फेरि नगर प्रमुखमा उठ्ने तयारीमा छन्। बहालवाला उप–नगर प्रमुख रेखा सापकोटाको पनि दाबी छ। रत्न कुस रन्जित र हरिशरण दाहालले समेत नगर प्रमुखमा एमालेबाट आकांक्षा राखेका छन्। कांग्रेसबाट बनेपा नगरपालिको नगर प्रमुखमा राम जोशी, सुरकृष्ण वैद्य, महेश कर्माचार्य, शान्तिरत्न शाक्यलगायतको दाबी छ। प्रायः आकांक्षीहरू टिकटकै लागि स्थानीयदेखि केन्द्र, प्रदेशका र केन्द्रका नेताहरूको घर÷घरमा दौडधुप गर्न थालेका छन्। 

धुलिखेल नगरपालिकाको नगर प्रमुखका लागि एमालेबाट बहालवाला नगर प्रमुख अशोककुमार ब्यन्जुको दाबी छ। यो नगरमा कांग्रेस बिदुर बस्नेत, रमेश हुमागाईं, ईश्वरी ओझा आकांक्षी छन्। माओवादी केन्द्रबाट पृथी थापाको नाम छ। पनौती नगरपालिकामा बहालवाला नगर प्रमुख भीम न्यौपाने एमालेबाट कार्यकाल दोहोर्‍याउने दाउमा छन्। कांग्रेसबाट रामशरण भण्डारी, प्रदीप बोगटी, भोला थापालगायतकोे दाबी छ। माओवादी केन्द्रबाट हस्तबहादुर लामा आकांक्षी देखिएका छन्। 

रामेछापमा सत्ता गठबन्धनका दलले चुनावी तालमेल गर्ने साझा निर्णय गरेको छ। एमाले एकल चुनावी मैदानमा होमिने गरी चुनावी तयारीमा छ। एमाले रामेछापले केही पालिका र वडाहरूमा सहमति भएका उम्मेदवारको नाम प्रदेश कमिटीमा पठाएको छ। बाँकी स्थानीय निकायमा टिकटका लागि नेताहरूको दौडधुप छ। यस्तै सत्ता गठबन्धन दलमा भने अहिलेसम्म अन्योल देखिन्छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले कुन–कुन स्थानीय निकाय लिने भन्ने टुंगो लागेको छैन।