२०८१ बैशाख २४, सोमबार    

एमालेले हेटौंडाको उपमेयर गुमाउने सम्भावना बढ्यो

२०७९ बैशाख १, बिहीबार १३:०३ बजे

नेकपा एमाले र राप्रपा नेपालवीचको तालमेलको विषयमा जिल्ला तहमा छलफल सुरु भएको छ ।

बुधबार केन्द्रमा औपचारिकरुपमा एमाले र राप्रपा नेपालवीच वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा एउटै चिन्हबाट उम्मेदवारी दिने तय भएको छ । यस्तो अवस्थामा राप्रपा केन्द्रीय अध्यक्ष कमल थापाको गृह जिल्ला तथा वाग्मती प्रदेशको राजधानी हेटौंडामा राप्रपाले उपमेयरसहित विभिन्न वडा अध्यक्षको दावी गर्ने बुझिएको छ ।

स्रोतका अनुसार हेटौंडामा राप्रपाले उपमेयरसहित दुईवटा वडा दावी गर्ने भएको छ । एउटै चुनाव चिन्हबाट प्रतिस्पर्धा गर्ने भएपछि राप्रपाले महिलालाई उपमेयरको रुपमा अगाडि सार्ने सम्भवना रहेको छ ।
राप्रपाले हेटौंडा–२ र ६ नम्बर वडामा आफूले दावी गर्ने बुझिएको छ । स्रोतका अनुसार हेटौंडा–२ र ६ मा राप्रपा र एमालेवीच मिल्दा सहजै चुनाव जित्ने सम्भवना रहेको छ । यसैगरी राप्रपाले वकैयाँ र वाग्मती गाउँपालिकामा पनि केही वडामा दावी गर्ने बुझिएको छ । राप्रपा नेपालको तर्फबाट गतस्थानीय तह निर्वाचनमा हेटौंडा–६ मा एकमात्र वडा सदस्य निर्वाचित भएका थिए ।

यो गठबन्धन संसदीय निर्वाचनसम्मै लम्बिने कारण कमल थापाले संसदीय क्षेत्र नम्बर १ बाट निर्वाचन उठ्ने सम्भावना रहेको पनि राजनीति वृत्तमा चर्चा चल्न थालेको छ ।