२०८१ बैशाख ७, शुक्रबार    

दुई वर्षमा दुई सय दिन तालाबन्दी

२०७८ फाल्गुन ३, मंगलबार ०८:४२ बजे

उच्च शिक्षाका ८० प्रतिशतभन्दा बढी विद्यार्थी अध्ययन गर्ने त्रिभुवन विश्वविद्यालयमा पछिल्लो दुई वर्षयता करिब दुई सय दिन तालाबन्दी भएको छ । विद्यार्थी र प्राध्यापकका विभिन्न संगठनले गरेको तालाबन्दीका कारण दैनिक कामकाज मात्र ठप्प नभएर विश्वविद्यालयको दीर्घकालीन लक्ष्य र योजना नै अलपत्र बन्न पुगेको छ ।

वर्षभरिमा करिब साढे दुई सय दिन विश्वविद्यालयको प्रशासनिक कामकाज सञ्चालन हुने गर्छ तर २०७६ कात्तिकयता करिब दुई सय दिन विभिन्न कारण तालाबन्दी भएको छ । यस हिसाबले दुई वर्षमा विश्वविद्यालय खुल्ने दिनमध्येको करिब आधा समय तालाबन्दी भएको छ । सबैभन्दा बढी तालाबन्दी गर्नेमा सत्तारूढ कांग्रेसनिकट नेपाल विद्यार्थी संघका कार्यकर्ता, आंशिक र करार प्राध्यापक छन् । तालाबन्दीमा सहभागीलाई सत्तारूढ कांग्रेसकै समर्थन र संरक्षण छ । आंशिक प्राध्यापकलाई करार गर्न र करारलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले दबाब दिँदै आएका छन् ।

पछिल्लो पटक नेविसंघ त्रिवि इकाईले माघ ७ मा उपकुलपति, रजिस्ट्रार, रेक्टरलगायतको कार्यालयमा तालाबन्दी गरेको छ । त्यस्तै आंशिक प्राध्यापकले त्रिवि सेवा आयोगलगायत निकायमा तालाबन्दी गर्दा झन्डै एक महिनादेखि त्रिविका कार्यालय ठप्प छन् । नाजायज र असान्दर्भिक माग राखेर भइरहेको तालाबन्दीको त्रिविकै प्राध्यापक र कर्मचारीले विरोध गर्दै आएका छन् । नेविसंघले अनौठो माग अघि सारेर तालाबन्दी गरेको हो ।