२०८१ बैशाख ८, शनिबार    

विश्वविद्यालयमा काम गर्ने वातावरण छैन : उपकुलपति

२०७९ भाद्र १२, आईतबार १४:०९ बजे

उपकुलपति धर्मकान्त बाँस्कोटाले पत्रकार सम्मेलन गर्न खोज्दा हरि आचार्य नेतृत्वको नेविसंघका सचिव योयोगेन्द्र रावलको नेतृत्वमा गएको समूहले विथोल्ने प्रयास  गरेको थियो । त्यसपछि पत्रकार सम्मेलनमा प्रहरी वृत्त कीर्तिपुरको टोलीले सुरक्षा दिएको थियो ।

 

सम्मेलनमा बोल्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाले विश्वविद्यालयमा बसेर काम गर्ने वातावरण नरहेको बताए ।

‘विभिन्न समूहले गरेको तालाबन्दी जोड्दा विश्वविद्यालयमा ३ सय दिनभन्दा बढी तालाबन्दी भइसक्यो’ उनले भने, ‘विश्वविद्यालयमा विभिन्न समूहबाट चन्दा, आर्थिक सहयोगको नाममा रकम मागेर हैरान बनाएको गुनासो प्राप्त भइरहेको छ, विभिन्न निकायमा शिक्षक, कर्मचारी कुटिएका छन् ।’

 

यस्तो अवस्थामा शिक्षक कर्मचारीमा एक किसिमको त्रास रहेको बताउँदै बाँस्कोटाले काम गर्ने वातावरण नभएको जनाएका हुन् । ‘यस्तो परिस्थितिमा स्वतः विश्वविद्यालयले सम्पादन गर्नुपर्ने कार्यहरु समयमा नसकी विद्यार्थीमा नकारात्मक प्रभाव परेको छ’ बाँस्कोटाले भने, ‘जसले विद्यार्थीहरु विदेशिने क्रम बढिरहेको छ ।’

बाँस्कोटाले विश्वविद्यालयमा नेविसंघको एउटा समूह निरन्तर तालबन्दी, धम्की र तोडफोडमा संलग्न रहेका बताए । उनले हरि आचार्य नेतृत्वको समूहलाई लक्षित गर्दै उनीहरु संलग्न श्रृंखलाबद्ध गतिविधिको फेहरिस्त नै प्रस्तुत गरे ।

उनका अनुसार यो समूहले उपकुलपति कार्यकक्षमा तोडफोड गरेर टेबुल लडाउने काम गरेको छ, उपकुलपतिको कार्यकक्षमै ब्यानर टाँगेको छ ।

‘उपकुलपतिको कुर्सी जलाउने, कार्यालय र ग्लोबल बैंकमा तोडफोड गर्ने, तालबन्दी खोल्नुपर्छ भन्दा उपप्राध्यापक प्रेम चलाउनेलाई मरणासन्न हुने गरी कुटपिट गर्ने जस्ता काम गरेको छ’ उनी भन्छन्, ‘यो समूहले ७ माघदेखि लगातार ५ महिनाभन्दा बढी समय तालाबन्दी गरेको छ ।’

यही समूहका कारण त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा तालाबन्दी गरेर प्राध्यापकहरुको पदोन्नति रोकेको पनि उनले बताए ।

बाँस्कोटाले भने, ‘सेवा आयोगका पदाधिकारीहरुलाई पनि विभिन्न समयमा धाकधम्की दिइएको छ ।’ कार्यकारी परिषद्को माइन्युट लगायत महत्वपूर्ण कागजात पनि यो समूहले लुटेको उनको भनाइ छ ।