२०८१ जेठ ४, शुक्रबार    

मकवानपुरमा सहज छैन गठबन्धनलाई

२०७८ चैत्र १८, शुक्रबार १८:४५ बजे

स्थानीय तह निर्वाचनमा मकवानपुरमा एमालेविरुद्ध सत्तारुढ गठबन्धन एक भएर अगाडि बढ्ने भएका छन् ।  माओवादी र कांग्रेसले अघिल्लो स्थानीय तहमा केही स्थानमा गठबन्धन गरेपनि पराजित हुन पुगेको थियो । गठबन्धन भएसँगै कार्यकर्ता र नेताले मर्मअनुसार मतदान नगर्ने कारण यस्तो अवस्थाको सिर्जना हुने गरेको विगतको नतीजाले देखाउँछ । २०७४ को निर्वाचनमा एमालेविरुद्ध गठबन्धन गरेका दलका उम्मेदवारहरू गठबन्धनले मात्र आगामी ३० बैशाखमा हुने निर्वाचन नजितिने निष्कर्ष यसअघि नै बताइसकेका छन् ।

स्थानीय तहको विगतको निर्वाचनले चुनाव जित्न पार्टी संगठन र जनता प्रतिको इमानदारिता महत्वपूर्ण हुन्छ भन्ने कुरा सिकाएको छ । स्थानीय तहको निर्वाचनमा मुख्यत: जनतामाझ को कति पुगेको छ भन्ने कुराले प्रष्ट देखाउने उनीहरु बताउँछन् । एमालेले मकवानपुरमा ६ वटा स्थानीय तहमा निर्वाचित भएर पाँचवटा बजेट कार्यान्वन गरेको छ । उसले जनताको मागको सम्बोधन के कति गर्‍यो त्यसको नतीजा पक्कै पनि मतपत्रमा देखिने नै छ ।

सांगठनिक रुपले एमाले मकवानपुरका असाध्यै बलियो शक्ति हो । तर, पार्टी फुटको असर भने परेको छ । जिल्लाको दशमध्ये कांग्रेस र माओवादीले २ नगर र एक गाउँपालिकामा गठबन्धन गरेका थिए । वाग्मती प्रदेशकै एक मात्र उपमहानगरपालिका हेटौंडा, थाहा नगरपालिका र भीमफदी गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रले नेतृत्व तहको लागि मात्र एमाले विरुद्ध गठबन्धन गरेका थिए । कांग्रेसले हेटौंडाको मेयर, थाहाको उपमेयर र भीमफेदीको उपाध्यक्ष लिएको थियो भने माओवादीले थाहाको मेयर, हेटौंडाको उपमेयर र भीमफेदीको अध्यक्ष लिएको थियो । तर एमालेविरुद्ध गठबन्धन गरेर निर्वाचन लडेको कांग्रेस र माओवादी केन्द्र केवल थाहा नगरपालिकामा मात्र चुनाव जित्न सके ।

अघिल्लो स्थानीय तहमा एमालेले हेटौंडा उपमहानगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा जित हात पारेको थियो । उपमहानगरपालिका प्रमुखमा एमालेका हरिबहादुर महतले २३ हजार १२४ मत ल्याउँदै जित हात पारे । उनले गठबन्धनका उम्मेदवार कांग्रेसका आनन्दराम पराजुलीलाई पराजित गरेका थिए । पराजुलीले २२ हजार ५०९ मत पाएका थिए । हेटौंडा उपमहानगरपालिकाको उपप्रमुखमा एमालेकी मीनाकुमार लामाले गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका बलराम बललाई हराएकी थिइन् । लामाले २३ हजार ४३७ मत ल्याउादा, बलले १७ हजार ११ मत ल्याए । अहिले लामा समाजवादीमा र बल एमालेमा पुगेका छन् ।

२०७४ मा भीमफेदी अध्यक्षमा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका रञ्जितकुमार रानालाई हराउँदै एमालेका हिदम लामा विजयी भएका थिए । लामाले ३ हजार ८४२ मतका साथ पालिका अध्यक्ष पदमा निर्वाचित भएका थिए भने रानाले ३ हजार ६९८ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा गठबन्धनका कांग्रेसका मोम लामा दोङलाई हराउँदै एमालेकी पार्वती रानाले जितेकी थिइन् । रानाले ३ हजार ८०२ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार दोङ ३ हजार ४३५ मतमा सीमित भएका थिए ।

थाहा नगरपालिकामा भने गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका लवशेर विष्टले ९ हजार ९१ मत प्राप्त गर्दै निर्वाचनमा विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी एमालेका विष्णुप्रसाद ढकालले ६ हजार ५४९ मत पाएका थिए । पालिका उपप्रमुखमा गठबन्धनका उम्मेदवार कांग्रेसका खड्ग गोपालीले ७ हजार ३०७ मतसहित चुनाव जितेका थिए । प्रतिद्वन्द्वी एमालेकी कल्पना बलामीले ६ हजार ७४५ मत पाएकी थिइन् ।

विगतको नतीजाले पनि मकवानपुरमा गठबन्धनले सहजै निर्वाचत जित्न कठिन हुनेदेखिन्छ ।