२०८१ बैशाख २८, शुक्रबार    

तिमल्सिना, मजदुर नेतादेखि राष्ट्रियसभा सदस्यसम्म

२०७८ माघ १२, बुधबार १८:५९ बजे

हेटौंडा/ लामो समय मजदुरको पक्षमा वकालत गरेकी मकवानपुरे नेतृ गोमा तिमल्सिना राष्ट्रियसभा सदस्य पदमा निर्वाचित भएकी छन् ।

हेटौंडामा बुधबार भएको राष्ट्रियसभा निर्वाचनमा उनी विजयीहुँदै देशको सवैभन्दा माथिल्लो सदनमा पुगेकीछन् । लामो समय नेकपा एमालेमा संघर्ष गरेकी तिमल्सिना पार्टीको आन्तरिक विवादका कारण सधैं छायाँमा परिरहेकी थिइन् । पार्टी विभाजन भएसँगै नेकपा (एकीकृत समाजवादी) रोजेकी उनले लामो समयको संघर्षपश्चात् नीति निर्माण गर्ने स्थानसम्म पुग्ने अवसर प्राप्त गरिन् ।

हेटौंडा–९, सिमेन्टरोड घर भएकी तिमल्सिनाको जन्म २०१२ माघ ९ गते मामाघर गोरखामा भएको थियो । उनको माइतीघर चैं तनहुँको बन्दीपुर हो । चितवन, गीतानगरमा घरजम भए पनि चितवनमा सोधिने ‘पहाडघर’ तिमिल्सिना दम्पतीको लमजुङ हो । २०३७ सालदेखि मजदुर फाँटबाट राजनीतिमा प्रवेश गरेकी तिमल्सिना चितवनबाटै पार्टी राजनीतिमा जोडिएकी हुन् । उनी हेटौंडा कपडा उद्योगमा कार्यरत्हुँदै राजनीतिमा आएकी थिइन् । उनले कपडा उद्योगमा २२ वर्ष आफ्ना जवानीका उर्वर समयहरु खियाएर परिवारको गुजारा चलाएकी थिइन् । २०५४ मै टेक्सटाइल गार्मेन्ट मजदुरको संगठनमा केन्द्रीय उपाध्यक्ष भएकी तिमल्सिना राष्ट्रिय परिषद सदस्य तीनपटक भइन् ।

राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएसँगै तिमल्सिनाले नीति निर्माण र मजदुरको पक्षमा उभिने बताइन् । ‘हामीले परिवर्तनका लागि राजनीति गरेका थियौं । संघीयताको संस्थागत विकास र परिवर्तनको पक्षमा काम गर्नेछु ।’,उनले भनिन्,‘नीति निर्माणको क्रममा हरेक बहसमा सहभागी हुनेछु ।’ उनले वर्तमान समयमा राजीतिमा देखापरेको विकृती हटाउन सक्रिय हुने बताइन् ।