२०८१ बैशाख २३, आईतबार    

राक्सिराङमा धुलिखेल अस्पतालको शाखा

२०७८ फाल्गुन ३, मंगलबार १४:०८ बजे

हेटौंडा/ मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–७ गर्लिङमा धुलिखेल अस्पतालको शाखा विस्तार गरिने भएको छ ।

वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले काभ्रेको धुलिखेल अस्पतालका पदाधिकारीहरुसँग अस्पतालमै पुगेर यसबारे छलफल गरेका हुन् । अस्पतालले प्रदान गरिरहेका सेवा सुविधाहरुको बारेमा जानकारी लिँदै राज्यमन्त्री प्रजाले विपन्न चेपाङ र तामाङ जातिको बाहुल्यता रहेको विकट गाउँमा स्वास्थ्य सेवाको आवश्यकताबारे अस्पताल पदाधिकारीहरुसँग छलफल गरेका थिए । निकट भविष्यमै चार शैयाको शाखा अस्पताल सञ्चालन गर्नेबारे धुलिखेल अस्पतालका पदाधिकारी सहमत भएको राज्यमन्त्री प्रजाले बताए ।

राज्यमन्त्री प्रजाको पहलमा धुलिखेल अस्पतालले यसअघि दुइपटक गर्लिङको क्षेत्रगत निरीक्षण गरिसकेको छ । राज्यमन्त्रीसँगको छलफल सकारात्मक भएको र निकट भविष्यमै गाउालेको आवश्यकताको आधारमा स्वास्थ्य सेवा प्रदान गर्ने सोच बनाइएको धुलिखेल अस्पतालका पब्लिक हेल्थ अफिसर सुदिप श्रेष्ठले जानकारी दिए । गर्लिङमा अस्पताल निर्माण गर्ने सोचका साथ भौतिक पूर्वाधार राज्यमन्त्री प्रजाले पूर्वाधार विकास कार्यक्रमअन्तर्गतको ५ लाख रुपैयाँ बजेटसमेत विनियोजन गरेका छन् ।

राज्यमन्त्रीसँगको छलफलमा अस्पतालका डाइरेक्टर रामकण्ठ माकाजु, संस्थापक डा राजेन्द्र कोजु, अर्थोपेडिक सर्जन डा. दीपक श्रेष्ठ, क्लिनिकल डाइरेक्टर डा. बलराम मल्ल, सामुदायिक विभाग तथा पब्लिक हेल्थ डाइरेक्टर डा. विराजमान कर्माचार्यलगायतको उपस्थिति रहेको थियो । काभ्रेको धुलिखेल नगरपालिका–६ मा रहेको धुलिखेल अस्पतालले हालसम्म देशभर १८ वटा शाखा विस्तार गरी स्वास्थ्य सेवा दिइरहेको अस्पतालले जनाएको छ ।