२०८१ बैशाख ७, शुक्रबार    

हेटौंडा चिप्लेटीमा औषधिसहितको स्वास्थ्य सुविधासहरी स्वास्थ्य केन्द्र सञ्चालन

२०७९ कार्तिक ४, शुक्रबार १२:०६ बजे

सिटामोल किन्न हेटौंडा र अमलेखगन्ज पुग्नु पर्ने पीडा खेप्दै आएका हेटौंडा उपमहानगरपालिका-१५ चिप्लेटीका बासिन्दाले बुधबारदेखि गाउँमै औषधिसहितको स्वास्थ्य सुविधा पाएका छन् । उक्त बस्तीमा उपमहानगरपालिकाले सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएसँगै स्थानीय बासिन्दालाई सामान्य सिटामोलकै लागि बाराको अमलेखगन्ज र हेटौंडासम्म पुग्नु पर्ने बाध्यताबाट हटेको छ ।

 

दुई रुपैयाँको सिटामोल लिन जानकै लागि ३ सय रुपैयाँसम्म अटोको भाडा तिर्नुपर्ने अवस्था थियो । अहिले त्यो समस्याबाट मुक्त भएका छौं, स्थानीय बुद्धिमाया स्याङ्बोले भनिन् । अर्का स्थानीय विरमान घलानले पनि उपचार अभावमा ज्यान गुमाउने अवस्था अन्त्य हुने विश्वास व्यक्त गरे । उनले भने,‘गाउँमा स्वास्थ्य चौकी स्थापना भएपछि अब अकालमा ज्यान जाँदैन होला ।ु

 

सदरमुकाम हेटौंडाबाट करिब ३ घण्टाको सवारी यात्रामा बाराको अमलेखगञ्ज हुँदै चिप्लेटी पुग्न सकिन्छ । करिब १६० घरपरिवार रहेको चिप्लेटीबाट वडा कार्यालयमा सञ्चालनमा रहेको स्वास्थ्य केन्द्रसम्म आउन ३ घण्टाको पैदल यात्रा गर्नुपर्ने बाध्यता थियो । स्वास्थ्य संस्था टाढा हुँदा स्थानियवासी सुविधाबाट बन्चित थिए ।

सहरी स्वास्थ्य केन्द्रको सेवा स्थानीय समाजसेवी एवं जेष्ठ नागरिक चन्द्रबहादुर घलानको बुधबार स्वास्थ्य परीक्षण गरेर शुभारम्भ गरिएको थियो । उपमहानगरको सहयोगमा सञ्चालनमा आएको स्वास्थ्य केन्द्रबाट खोप सेवा, बालस्वास्थ्य उपचार, दादुरा, रुबेलाको उपचार, गर्भवती जाँच, पोषण कार्यक्रम सामान्य उपचार सेवा, क्षयरोग, कुष्ठ र औंलोका औषधिसहित सुविधाहरु रहने हेटौंडा उपमहानगरपालिका स्वास्थ्य शाखाका अधिकृत कृष्णकुमार यादवले बताए ।

कार्यक्रममा हेटौंडा उपमहानगरकी प्रमुख मिनाकुमारी लामाले नगरवासीलाई न्यूनतम आधारभूत सुविधा दिन कहिल्यै पछि नपर्ने बताइन् । लामो समयको दुखः पछि चिप्लेटीवासीले पाएको स्वास्थ्य सुविधालाई स्तरवृद्धि गर्दै लैजान ध्यान दिने भन्दै उनले स्वास्थ्य केन्द्रमा औषधिको अभाव हुन नदिने प्रतिबद्धता जनाइन् । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, हेटौंडा–१५ का अध्यक्ष सुनिल मोक्तानलगायतको उपस्थिति थियो ।