२०८१ जेठ ७, सोमबार    

 हेटौंडामा  ढुकुटीको बिगबिगी, अवैध खेलमा झुम्मिएका छन् व्यवसायी

२०७८ फाल्गुन २, सोमबार १४:१९ बजे

हेटौंडा/  हेटौंडामा पछिल्लो समय अवैध क्रियाकलापको भीडमा ढुकुटी खेल थपिएको छ ।


सामान्यतया: तास, कौडा खेलिरहेको अवस्थामा पक्राउ पर्नेहरुको जमात देखिरहेकै अवस्थामा हेटौंडामा ढुकुटीको बिगबिगी फैलिएको हो । अवैध जुवाको रुपमा लिइने ढुकुटीमा विशेषगरी हेटौंडाका व्यवसायीहरु रमाउन थालेका छन् ।

बजार क्षेत्रका व्यवसायीहरुले लाखांै रकम ढुकुटीमा लगानी गरेका मात्र छैनन्, ढुकुटीबाटै रातारात करोडौं कमाएका छन् । लाखौंको खेल हुने ढुकुटी माइन्युटिङनै गरेर खेल्ने क्रमसमेत बढेको छ । विशेषगरी साताको दुई दिन हेटौंडाका रेष्टुरेन्टमा लाखौं रकममा ढुकुटी खेल्ने व्यवसायीहरु दिनानुदिन बढ्दो छ । शुक्रबार र शनिबार साँझ हेटौंडाका रेष्टुरेन्टहरुमा व्यवसायीहरु लाखौं रकम बाँडफाँड गरेर ढुकुटी खेल्ने गरेको पाइएको छ ।

ढुकुटी खेल्ने मात्र होइन, खेलाउने क्रियाकलापसमेत बढिरहँदा यसैका कारण दर्जन बढीको घरबारनै बिग्रिने अवस्थासम्म पुगेको नाम नबताउने शर्तमा ढुकुटी खेल छाडेका मध्ये एकले बताए । ‘मैले त, ढुकुटी खेल्न छोडे तर, यसैका कारण घरबारनै बिग्रिने अवस्थामा पुगेका उदाहरण धेरै छन् ।’ उनले भने, ‘महिलासम्म सामेल भएको खेलमा घरनै छाडेर काठमाडौंतर्फ लागेको पाइएको छ ।’

सामाजिक क्षेत्रमा क्रियाशिल देखिएकाहरु समेत ढुकुटीमा रमाइरहेका छन् । रेष्टुरेन्टमा माइन्युट गरेर एक आपसमा रकमको कारोबार गर्ने अवैध खेलबाट सामाजिक क्षेत्रमा समेत क्रियाशिल रहेका व्यवसायीहरु अछुतो छैनन् ।

प्रमाणसहित फेला परे पक्राउ गरेर मुद्दा चलाइन्छ: डिएसपी रिमाल


हेटांैडामा हुने ढुकुटी खेलबारे प्रहरी जानकार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) जयश्वर रिमालले बताए ।
‘ढुकुटी पूर्ण रुपमा अवैध खेल हो, यो प्रमाणसहित फेला परे कानुनबमोजिम कारबाही अघि बढाउन सकिन्छ ।’ उनले भने, ‘संचारमाध्यम मार्फत् नै भएपनि खेल स्थलबारे जानकारी पाए रंगेहात पक्राउ गरेर कारबाही अघि बढाउन मकवानपुर प्रहरी तयार छ ।’

के हो ढुकुटी ?, कसरी खेलिन्छ ?


गैरकानुनी खेल ढुकुटी जोखिमपूर्ण आर्थिक कारोबार हो । सबै ढुकुटीका लागि न्यूनतम १० देखि अधिकतम ५० जनासम्म खेलाडी हुन्छन् । सबैभन्दा राम्रो २० जनाको समूह हो । दामासाहीले निश्चित रकम एकै ठाउँमा नियमित जम्मा गरेर निश्चित अन्तरालमा तोकिएको पूर्वनिर्धारित प्रक्रियाबाट छानिएका खेलाडीलाई निश्चित रकम ब्याजमा चलाउन दिने र निश्चित ब्याज लिएर ढुकुटीको मूल धन बढ्ने ब्यबस्था गरिएको हुन्छ ।
समूहअनुसार ढुकुटी खेल्ने आ–आफ्नै नियम हुन्छन् । कसैले गोलाप्रथा गर्छन्, केही पैसा छोड्छन्, कुनैमा नम्बर सिस्टम पनि चलेको पाइन्छ । गोलाप्रथा ढुकुटीको प्रचलित नियम हो, जसमा नाफा पनि सामान्य हुन्छ र जोखिम पनि कम । यसमा जसलाई ‘बधाई’ लेखिएको गोला पर्छ, त्यो पटकको ढुकुटी उसैले खान्छ । अर्को नियमको ढुकुटीमा जसले बढी पैसा छोड्छ, उसैले ढुकुटी खान्छ । तेस्रो सबैको नम्बर सिस्टम गरी जसको पालो आउँछ, उसैले ढुकुटी खान्छ । ढुकुटी खेलाउनेलाई भने, ‘घोप्पा’ भनिन्छ । उसले ढुकुटीका सहभागी सबैको रकम सुरक्षाको जिम्मा लिएको हुन्छ ।