२०८१ बैशाख १७, सोमबार    

प्रहरी र स्थानीयवीच झडप, दुई प्रहरीसहित सातजना घाइते

२०७९ श्रावण ३०, सोमबार १०:०९ बजे

रसुवा जिल्लामा निर्माणाधीन सान्जेन जलविद्युत आयोजनामा स्थानीयले तोडफोड तथा आगजनी गरेका छन् ।

स्थानीयका लागि जारी हुन लागेको आईपीओ असमान भएको भन्दै स्थानीय युवाहरुले असन्तुष्टि जनाउँदै आइतबार साँझ गत्लाङ–३ मा तोडफोड तथा आगजनी गरेका वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रहरीका अनुसारस्थानीयले साइड अफिस, सवारी साधन तथा भवनमा तोडफोड गर्नुका साथै आगजनी समेत गरेका थिए । सेयर बाँडफाट गर्दा आफूहरुलाई अतिप्रभावितको सूचीमा राख्न माग गर्दै गत्लाङका स्थानीयले कार्यालयभित्रै पसेर तोडफोड गर्न सुरु गरेका थिए । तोडफोड सुरु भएपछि प्रहरी र स्थानीयवीच समेत झडप भएको थियो ।

स्थानीय करिब ९० जनाको समूहमा आएका युवाले पाउने १० प्रतिशत सेयरमध्ये अतिप्रभावितका रूपमा आफूहरुलाई अग्राधिकार नदिएको भन्दै कर्मचारीमाथि हातपात गरेका छन् । कार्यालयको गाडीमा ढुंगाले हानेर क्षति पुर्‍याएका छन् । उनीहरुले कार्यकक्षभित्रै पसेर वर्किङ चेम्बर भत्काइदिएका छन् । आन्दोलनकारीले कार्यालयका कुर्सी जलाएका छन् । कार्यालयका विभिन्न संरचनाहरु भत्काइदिएका छन् । तोडफोडका कारण आयोजनामा करोडौंको क्षति पुगेको छ । झडपमा संलग्न पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झडपमा दुईजना प्रहरी घाइते समेत भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ६ सेल अश्रु ग्यास, ३ राउण्ड सर्टगन कार्टिज र सशस्त्र प्रहरीले २ सेन अश्रु ग्यास प्रहार गरेको थियो । झडपमा ६ वटा सवारी र एउटा घरको सिसा फुटेको छ । त्यसक्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्दै प्रहरी र सशस्त्र खटाइएको छ ।