२०८१ जेठ ५, शनिबार    

कांग्रेस अधिवेशन : चलेन इन्द्रको जादु

२०७८ फाल्गुन १७, मंगलबार १४:०३ बजे

हेटौंडा/ ‘म्यान फर इलेक्सन’को रुपमा परिचित नेता हुन नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ । लगातार दुईपटक संसदीय र पार्टीको निर्वाचनमा विजयीहुँदै आफ्नो राजनीति उडानलाई तीब्र बनाएका बानियाँले मकवानपुर कांग्रेसको सोमबार सम्पन्न १४ औं जिल्ला अधिवेशनमा भने कुनै कमाल देखाउन सकेनन् ।

उनले बुद्ध लामालाई समर्थन गरेका थिए । तर, लामाले पहिलो राउण्डमा चुनाव जित्न सकेनन् । नेपाली कांग्रेस मकवानपुरमा बानियाँको वर्चश्व रहेका छ । वडादेखि केन्द्रका नेतासँग सिधै सम्पर्क राख्ने बानियाँले लामाको पक्षमा मत मागेपनि सोचेजसरी मत आएन । उनी निकट नेताहरुले पहिलो राउण्डमै ५१ प्रतिशतभन्दा बढी मत ल्याउने दावी गरेपनि त्यो सम्भव भएन ।

१२ र १३ औं जिल्ला अधिवेशन लामाले आफूलाई सभापति पदमा सघाएको र प्रदेशसभाको निर्वाचनमा लामाले प्राप्त गरेको टिकट बानियाँले लिएका थिए । यस गुणको पैँचो तिर्न बानियाँले लामालाई समर्थन गरेका थिए । लामो समयदेखि कांग्रेस सभापति शेरबहादुर देउवा पक्षधर भएर दुवै मकवानपुरे राजनीतिमा सक्रिय छन् । मकवानपुरमा कांग्रेसको तेस्रो धारको नेतृत्व गरिरहेका प्रभातकुमार दाहालको समर्थन पनि लामालाई नै रहको थियो । तर, पनि सवै नेताले साथ छाडेको संस्थापन पक्षकै आनन्दराम पराजुलीकोभन्द थोरै मात्र मत बढी लामाले पहिलो राउण्डमा प्राप्त गरे ।

तुलनात्मकरुपमा लामाभन्दा पराजुली कार्यकर्ता माझ लोकप्रिय रहेको प्राप्त मतबाटै पुष्टि भइसकको छ । पराजुलीलाई सहमहामन्त्री डीना उपाध्यायको साथ रहेको थियो । पराजुलीले सभापतिमा उम्मेदवारी घोषणा गर्दा अधिकांश जिल्लाका कांग्रेस नेता उपस्थित भएका थिए । उनको सचिवालयमा टिकट माग्नेको पनि भीड लाग्थ्यो । तर, बानियाँले लामालाई समर्थन गर्ने वित्तिक सवै नेताहरु उत्तै लागे । तर, पनि आनन्दले सम्मान जनक मत प्राप्त गरे । बानियाँको समर्थन नभएको कारण पराजुली तेस्रो हुने निश्चित छ भनेर उनी निकट कार्यकर्ताले हल्ला चलाएपनि त्यसो भएन ।

कार्यकर्तामाझ पराजुली लोकप्रिय भएपनि आफूलाई लामो समयदेखि लामाले साथ दिएका कारण बानियाँ उत्तै लागेको बुझिन्छ । लामालाई सभापति बनाउन बानियाँका विश्वासका पात्र तथा उपसभापतिका उम्मेदवार रामबाबु बानियाँको सवैभन्दा बढी अडान रहेको स्रोतले बताएका छ । ‘केन्द्रीय दबाबले पनि सम्भव भयो ।’ स्रोतले भन्यो । पराजुली संस्थापन पक्षमा खुलेको धेरै समय भएको छैन । जसको शिकार उनी हुन पुगे । पराजुली १३ औं अधिवेशनपश्चात् मात्र संस्थापनमा खुलेका हुन् ।

कांग्रेस अधिवेशनअन्तर्गत् सोमबार भएको मतदानमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि पुन: मतदान तयारी भएको अवस्थामा लामाको पक्षमा सहमति जुटेसँगै उनी सभापति भएका छन् । दोस्रो चरणमा लामा र आनन्दराम पराजुलीवीच निर्वाचन हुने तय भएको थियो ।