२०८१ बैशाख ८, शनिबार    

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानविरुद्ध अख्तियारमा उजुरी

२०७८ चैत्र २६, शनिबार १६:४२ बजे

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा उजुरी परेको छ।

प्रतिष्ठानमा कर्मचारी नियुक्ति र स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको हो।  आयोग कार्यालय हेटौंडाका सूचना अधिकारी विष्णु सापकोटाको अनुसार प्रतिष्ठानमा भएको अनियमितताको बारेमा आयोगले अनुसन्धान सुरु गरिसकेको छ ।

‘आयोगले प्रतिष्ठानमा भएको अनियमितताको बारेमा परेको उजुरी अनुसार अनुसन्धान सुरु गरिसकेको छ',उनले भने,‘अहिले हामी प्रारम्भिक अनुसन्धानमा नै छौँ।’

वाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालय स्रोतको अनुसार आयोगले अनुसन्धानको क्रममा अनियमितता भएको भन्ने विषयमा छानविन गर्न प्रतिष्ठानसँग आवश्यक कागजातसमेत माग गरेको थियो। तर, प्रतिष्ठानले आयोगलाई आवश्यक कागजात दिन आलटाल गरेपछि मन्त्रालयले अख्तियारले  मागेको आवश्यक कागजपत्र बुझाउन निर्देशन समेत दिएको थियो।