२०८१ बैशाख ११, मंगलबार    

हेटौंडा अस्पतालले भन्यो : भवन र चिकित्सक अभावमा काम गर्न सकिएन

२०७९ असार ७, मंगलबार १७:२७ बजे

भवन र दक्ष चिकित्सक अभावका कारण आफ्नो सेवालाई पूर्णरुपमा सञ्चालन गर्न कठिन भएको हेटौंडा अस्पतालले जनाएको छ ।

अस्पतालको सेवाको विषयलाई लिएर सर्वत्र विरोध हुन थालेपछि मंगलबार पत्रकार सम्मेलन गर्दै अस्पाल व्यवस्थापन समितिले भवन र चिकित्सक अभावका कारण हालको अवस्था सिर्जना भएको जनाएको छ ।

‘हाम्रो अस्पताल ५० बेडको हो । थोरै दक्ष जनशक्तिमा हामीले धेरै काम गर्नुपर्ने अवस्था सिर्जना भएको छ । हामीसँग आवश्यक पूर्वाधार पनि छैन । जसको कारणले गर्दा भद्रगोल जस्तो देखिएको हो ।’, हेटौंडा अस्पतालको मेडिकल सुपरिटेण्डेन्ड रामचन्द्र सापकोटले भने ।

उनका अनुसार हाल हेटौंडा अस्पतालमा दैनिक ५०० जनाले सेवा लिइरहेका छन् । ‘विरामीको चाप अस्पतालमा बढ्दो अवस्थामा छ । सोही अनुसार भवन र वेड छैन । इमर्जेन्सी, टिकट र भिडियो एक्स–रे मा समस्या भएको गुनासो आइरहेको छ । हामी समाधान गर्ने कोसिस पनि गरिरहेका छौं ।’, उनले थोरै जनशक्ति भएपनि डायलायसीस, आईसीयु पनि सञ्चालन गरिरहेको बताए ।

‘हेटौंडाको स्वास्थ्य सेवा अझै राम्रो होस् भन्ने हाम्रो पनि चाहना हो । यसका लागि पर्याप्त पूर्वाधार, दक्ष चिकित्सक र अत्याधुनिक मेडिकल सामग्रीको आवश्यकता पर्छ ।’, सापकोटाले भने ।