२०८१ बैशाख १५, शनिबार    

एमालेबाट मुलुकको विकास र समृद्धि सम्भव छैन : डिना

२०७९ कार्तिक २१, सोमबार १८:५४ बजे

लोकतान्त्रिक–बाम सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले संविधान, संसद् र लोकतन्त्र मास्न खोज्ने नेकपा एमालेबाट मुलुकको विकास र समृद्धि सम्भव नभएको बताएकी छिन् ।

सोमबार हेटौंडा १० नम्बर वडाको प्रचारप्रसार कार्यालय उद्घाटन गर्दै उनले ५ बर्षका लागि पाएको जनमत समेत जोगाउन नसक्नेलाई फेरि मतदान गर्नु गलत हुने भन्दै गठबन्धनका साझा उम्मेदवारलाई जिताउन अनुरोध गरिन् । ‘जनताले दिएको बहुमतलाई लत्याउने, ५ बर्षका लागि प्राप्त जनादेशलाई समेत जोगाउन नसक्नेहरु फेरि अनेकन प्रलोभन र झुटो आश्वासन बाँड्न आएका छन् । अब जनता धेरै बुझ्ने भैसकेका छन्’, पूर्व जलस्रोत राज्यमन्त्री समेत रहेकी डिनाले भनिन्, ‘संविधान र मुलुक जोगाउने ५ दल एक भएर चुनावी प्रतिस्पर्धामा छौं । चुनावपछि पनि साझा भएरै जनताको पक्षमा काम गर्नेछौं ।’ सबैले इमानदारीपूर्वक गठबन्धनको पक्षमा मतदान गर्ने र जिताउने अभियानमा लाग्न जरुरी रहेको उनको भनाई थियो । मंसिरको निर्वाचनपश्चात गठबन्धनकै सरकार बन्ने दावी गर्दै उनले आफू सांसद् बन्नका लागि मात्र नभई जनताको सुखदुःखमा साथै रहन चुनावमा होमिएको बताइन् । यसपटक मतदाताको हौसला, माया र साथले जित सुनिश्चित भैसकेको दावी गर्दै उनले मतान्तर बढाउने गरी लाग्न अनुरोध गरिन् ।

गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ का उम्मेदवार कांग्रेसका नेता आनन्दराम पराजुलीले मकवानपुरमा गठबन्धनका उम्मेदवार सबै प्रदेशको मन्त्री, मुख्यमन्त्री र केन्द्रीय मन्त्रीसम्म बन्ने हैसियतको भएकोले जिताएर जिल्लाको मुहार फेर्न अनुरोध गरेका छन् । हेटौंडा १० को चुनावीसभामा उनले भने, ‘यसपटक तपाईंहरुले महालक्ष्मी उपाध्याय डिनालाई जिताउनुभयो भने केन्द्रको मन्त्री पक्कापक्की छ ।

जिल्लाकै सहज पहुँचमा भएको महिला नेतृ मन्त्री हुँदा यहाँको विकासमा धेरै काम गर्न सक्छौं’, उनले भने, ‘२ नम्बर क्षेत्रका उम्मेदवार विरोध खतिवडा निवर्तमान मन्त्री, २ को ‘क’ का उम्मेदवार कुमारी मोक्तान प्रदेशको बहालवाला मन्त्री हुनुहुन्छ । २ को ‘क’ का उम्मेदवार कांग्रेस प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्नसक्ने हैसियतको हुनुहुन्छ । गठबन्धनलाई जिताउँदा फाइदै फाइदा छ ।’ गठबन्धन र यसमा आबद्ध दलको बीचमा कुनै समस्या नरहेको र जनताले समेत गठबन्धनप्रति विश्वास गरेकोले मकवानपुरका ६ वटै उम्मेदवारले चुनाव जित्ने उनको दावी थियो ।

कुनै एजेण्डा नपाएर विरोधीले जनतालाई भ्रममा पार्ने अनेक दुस्प्रयास गरिरहेको पराजुलीको भनाई छ । प्रचार समिति वडाका संयोजक युवराज लामाको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्र मकवानपुर संयोजक सर्केस घलान, नेकपा एसका केन्द्रीय सदस्य मधु अधिकारी, नेकपा एसका १० नम्बर वडा अध्यक्ष प्रेमबहादुर गुरुङ, माओवादी केन्द्रका वडा ईन्चार्ज ज्ञानेन्द्रबहादुर कार्कीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।