हेटौंडा उपमहानगरपालिककी नगर प्रमुख मीनाकुमारी लामाले सडक विस्तारको विषयमा हेटौंडावासीलाई अन्यौलतामा राख्न नहुने बताएकी छन् ।
जिल्ला समन्वय समिति मकवानपुरको तेस्रो त्रैमासिक समीक्षा कार्यक्रममा बोल्दै नगर प्रमुख लामाले छिमेकका सबै जिल्लामा बाटो बिस्तार गरि सुन्दर शहर निर्माणमा अघि बढिरहेको अवस्थामा हेटौंडालाई अन्यौंलमा राख्न नहुने बताईन् । दक्षिणमा रहेको बारा, पर्सा र पश्चिममा रहेको चितवनमा राजमार्ग बिस्तारले गति लिंदा केन्द्र सरकारले हेटौंडा बासिमाथि अन्याय गरेको बताईन् ।
उनले मुआब्जा दिन बाँकी जग्गाधनीलाई मुआब्जा दिएर सडक विस्तार कार्य अघि बढाउनुपर्ने बताइन् । २५ मिटरको सन्दर्भमा जिल्लाबाट निर्वाचित संघीय र प्रदेश सांसदहरुले आवश्यक चासो नदिँदा अन्यौलता भएको उनको भनाइ छ । पालिकाका जनप्रतिनिधिसँगै प्रदेश एवम् संघीय सांसदहरु पनि जनताबाटै निर्वाचित हुन् तर भूमिका कमजोर रहँदा संघीय बजेटले हेटौंडालाई कुनै हिसाबले पनि नछोएको बताईन् । नगर र जिल्लाको विकासका लागि सडक विस्तार अनिवार्य रहेको भन्दै अब सबै गम्भीर हुन जरुरी रहेको औंल्याइन् ।
लामाले स्थानीय तहलाई बलियो बनाउँदै लानुपर्ने बताउँदै सङ्घ, प्रदेशको कानुन स्पष्ट नहुँदा समस्या आएको बताइन् । उनले संघीय सरकारबाट आउने २६ प्रतिशत बजेट नआउँदा समस्या भएको बताइन् ।