२०८० चैत्र १५, बिहीबार    

बढ्यो मतदान केन्द्रित चहलपहल, मदिरा बिक्रीवितरण, ओसारपसार र सेवनमा निषेध

२०७९ मंसिर ३, शनिबार १३:५४ बजे

आइतबार हुने निर्वाचनका लागि कर्मचारी खटाइएका मतदान केन्द्रमा पुगिसकेका छन् । अत्यधिक भीड हुने जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, विद्युत् प्राधिकरण, कृषि ज्ञान केन्द्र, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालगायतका कार्यालयका साथै प्रदेशका मन्त्रालयहरू यतिबेला सुनसान भएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा सधैं घुइँचो लाग्ने राहदानी र नागरिकता फाँट शुक्रबार सुनसान थियो । दैनिक ५०/६० जनाको भीड लाग्ने यी फाँटहरूमा चुनाव लागेसँगै चहलपहल शून्यप्राय: छ । वाग्मती प्रदेशको मुख्यमन्त्री कार्यालय नजिकै रहेको पूर्वजिल्ला समन्वय समिति (जिसस) को कार्यालयमा भने भीडभाड छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्थात् जिल्लाका निर्वाचन क्षेत्र २ को कार्यालय यही कार्यालयमा राखिएकाले चहलपहल बढेको हो ।

जिल्लाका करिब १०० भन्दा बढीवटा सरकारी कार्यालयहरू, बैंक तथा वित्तीय संस्था, विद्यालयहरू बन्द भएका छन् । मतदान केन्द्र र मतगणनास्थल तोकिएकाले विद्यालयहरूमा बिदा दिइएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले मतदानलाई ध्यानमा राखेर आइतबार मदिरा बिक्री, वितरण, ओसारपसार र सेवनसमेत निषेध गरेको छ ।

आफ्ना कर्मचारीहरू निर्वाचनमा खटिएकाले बिहीबारदेखि सोमबारसम्मका लागि कार्यालयबाट प्रवाह भइरहेको अत्यावश्यक बाहेकका सेवा ठप्प गरेको जनाएको छ । निर्वाचन स्वच्छ, निष्पक्ष एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्यलाई सलाई, लाइटर, फोटो खिच्ने क्यामरा, मोबाइल वा अन्य निषेधित वस्तु लिएर जान निषेध गरिएको उसले जनाएको छ ।