हेटौंडा खानेपानी व्यावस्थापन बोर्डले आफ्नो वर्तमान अवस्थाको विषयमा सरोकारवाला पक्षलाई जानकारी गराएको छ ।
हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामा, बागमती प्रदेशको खानेपानी तथा सिचाईं मन्त्रालयका सचिव मोहनकुमार शाक्य, मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल, वडा अध्यक्षलगायतका विभिन्न क्षेत्रका सरकोकारवालासहित अन्तरक्रिया गरिएको हो ।
हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले हेटौंडा उपमहानगरको १ देखि १९ वडामध्ये वडा नम्बर–२, ४, ५, ६, ७, ८, ९, १० र १४ पुरै र वडा नं. १, ३, १५, १६, १७, १८ र १९ का आंशिक क्षेत्रमा बसोबास गर्ने करिब १ लाख ६५ हजार नगरबासीलाई खानेपानी वितरण गरिरहेको छ ।
बोर्डले उपमहानगर क्षेत्रमा दैनिक सरदर ३ करोड ७० लाख लिटर खानेपानी उत्पादन गरी २८ हजार १ सय १२ वटा धाराहरुमार्फत् ८ देखि ९ घण्टा पानी वितरण गर्दै आइरहेको बोर्डका अध्यक्ष प्रताप विष्टले जानकारी दिए । हेटौंडाको मुख्य बजारक्षेत्रमा २४ सै घण्टा पानी आपूर्ति गर्न बोर्ड सफल भएको छ । बोर्डमा हालसम्म १६ वटा खानेपानी उपभोक्ता समितिहरु हस्तान्तरण भइसकेको छन् । सबै वडामा २४ सै घण्टा पानी वितरण गर्ने गरी बोर्डले योजना बनाइरहेको छ ।
हेटौंडा उपमहानगरपालिकाले नगरबासीहरुलाई सहयोग पु¥याउने उद्देश्यले २०७९ साल भाद्र महिनादेखि न्यूनतम १० हजार लिटर पानी महशुल निःशुल्क गर्दै आएको छ । यसबाट १० हजार लिटर मात्र खानेपानी खपत गर्ने उपभोक्ताहरु लाभान्वित भएका छन् ।
बोर्डले आफनै स्रोतबाट नगर क्षेत्रभित्र विभिन्न स्थानमा १५ वटा डीप ट्यूवेल निर्माण कार्य सम्पन्न गरेको छ । संघीय सरकार खानेपानी तथा ढल व्यवस्थापन आयोजना, हेटौंडा उपमहानगरपालिका र यस बोर्डको सहलगानीमा करिब १५ करोडको लागतमा ओभर हेड पानी टंकी १ वटा, भूमिगत पानी टंकी ३ वटा, डीप बोरि· ४ वटा, मेन तथा शाखा पाइप लाइन विस्तार र विद्युतीकरणको कार्य सम्पन्न गरिएको अध्यक्ष विष्टले बताए ।