२०८१ बैशाख २४, सोमबार    

पेट्रोलमा २० र डिजेलमा प्रतिलिटर २९ रुपैयाँ मूल्य घटाइयो

२०७९ असार ११, शनिबार १३:२१ बजे

सरकारले करमा कटौती गर्दै  पेट्रोलियम पदार्थको मूल्य घटाउने  घोषणा गरेको छ । शनिबार पत्रकार सम्मलेनमार्फत उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिएका हुन् ।

मन्त्री बडूले डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गरेको जानकारी दिएका छन् । कर कटौती भएसँगै अब डिजेल प्रतिलिटर १६३ र पेट्रोल १७९ रुपैयाँ पर्नेछ । सरकारको घोषणासँगै नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गर्दैछ । सुरुमा मन्त्री बडूले डिजेलमा २८ रुपैयाँ घटाइएपछि नयाँ मूल्य १६३ हुन आउने बताएका थिए । तर अहिलेको मूल्य १९२ रुपैयाँमा २८ घटाउँदा १६४ हुन आउँछ । बारम्बार मन्त्री बडूले २८ रुपैयाँ घटाएपछि १६३ भएको बताइरहेपछि नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले २८ घटाउँदा १६४ हुन्छ भनेका थिए । त्यसपछि मन्त्री बडूले डिजेलको नयाँ मूल्य १६३ नै भएको र त्यसका लागि जति घटाउनुपर्ने हो घटाउन निर्देशक थानीलाई निर्देशन दिए ।

मन्त्री बडूले भने, '१६३ नै हो । कति घटाउँदा हुन्छ त्यति घटाउनुस् ।' यसअघि शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सरकारलाई पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सरकारलाई सुझाव दिएको थियोनेपाल आयल निगमले पछिल्लो पटक डिजेल र मट्टितेलमा २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ भाउ बढाएको थियो । अहिले पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजल/मट्टितेल प्रतिलिटर १९२ रुपैयाँमा कारोबार भइरहेको छ । एक्कासि इन्धनको भाउ बढेपछि सरकारमाथि चौतर्फी दबाब आएको थियो । कर कटौती गरेर भए पनि नागरिकलाई राहत दिन सदनदेखि सडकबाट सरकारलाई दबाब दिने काम भइरहेको छ ।