२०८१ जेठ ४, शुक्रबार    

तयार भयो पिप्लेक्याम्पा रंगशाला

२०७८ फाल्गुन २७, शुक्रबार १९:२३ बजे

हेटौंडा/ हेटौंडा–५ स्थित क्याम्पाडाँडामा निर्माण सुरु गरिएको एकवर्षमै मिनि रंगशाला तयार भएको छ । पिप्ले युवा क्लबको अगुवाइमा निर्माण भएको पिप्लेक्याम्पा रंगशालाको उद््घाटन हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत र वडाअध्यक्ष राजेश बानियाँले गरेका छन् ।

पूर्वराष्ट्रिय बक्सिङ् खेलाडी तथा क्लब अध्यक्ष सुशील घिमिरेको पहलमा स्थानीय व्यक्तिको सहयोगमा रंगशाला निर्माण अभियान सुरु भएको थियो । रंगशाला निर्माणका लागि सहयोगी संघसंस्था तथा व्यक्तिहरुले पनि आवश्यक सघाउ पुर्‍याएका थिए । करिब पौने २ करोडमा रंगशाला निर्माण गरिएको क्लबका अध्यक्ष घिमिरेले जानकारी दिए । रंगशालामा हेटौंडा उपमहानगरपालिका र ५ नम्बर वडाबासीको तर्फबाट १ करोड ३९ लाख लगानी भएको छ । उनले विभिन्न सहयोगी संस्था एवम् व्यक्तिहरुबाट पनि करिब ३० लाख रुपैयाँ सहयोग प्राप्त भएको बताए । रंगशालामा करिब ५ हजार दर्शक अट्ने प्याराफिट निर्माण गरिएको छ । उनका अनुसार फलामको र कंक्रिटको प्याराफिट निर्माण गरिएको हो । उनका अनुसार २० हजार क्षमताको रंगशालानको रुपमा यसलाई विकास गरिनेछ ।

हेटौंडा फुटबल खेलाडी उत्पादनको हिसावले देशमै अग्रस्थानमा रहेको भएपनि रंगशालाको अभावमा यहाँ सञ्चालन हुने फुटबल प्रतियोगिताहरु बाँसको अस्थायी प्यारफिटमा गर्नुपर्ने बाध्यता रहँदै आएको थियो । रंगशालामा फुटबलसहित एथ्लेटिक्सको ट्रयाक समेत निर्माण गरिएको छ । अब रंगशाला परिसरमै कभर्ड हल बनाउने योजना रहेको उनले बताए ।