२०८१ बैशाख १४, शुक्रबार    

बालुवाटारमा देउवाले जब ‘साथीहरू मानेनन्’ भने, त्यसपछि टुट्यो सत्ता गठबन्धन

२०७९ पौष १०, आईतबार १५:१५ बजे

प्रधानमन्त्री र राष्ट्रपति दुवै पद आफै राख्ने नेपाली कांग्रेसको अडानका कारण सत्ता गठबन्धन टुटेको छ । नयाँ निर्वाचनपछि प्रधानमन्त्रीमा आलोपालो नेतृत्व गर्ने कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच सहमति भएपनि पहिला को प्रधानमन्त्री बन्ने भन्नेमा कांग्रेस र माओवादी केन्द्रबीच सहमति नबन्दा झण्डै २ वर्षअघि बनेको गठबन्धन टुटेको हो ।

आइतबार निर्णायक छलफल भन्दै बालुवाटारमा भएको तीन दलका नेताबीचको छलफलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुरलाई पूर्व सहमतिअनुसार प्रधानमन्त्री छोड्न पुनः आग्रह गरेका थिए । ‘पहिला गरेको सहमतिअनुसार तपाईंले पहिलो प्रधानमन्त्री छोड्नुस्’, बैठकमा प्रचण्डले देउवालाई भनेका थिए । तर जवाफमा देउवाले प्रधानमन्त्री छोड्न साथीहरुले नमानेको भन्दै ‘साथीहरु असहमत भए’, भन्ने जवाफ दिएका थिए । त्यसपछि अव बस्नुको औचित्य छैन भन्दै प्रचण्ड बालुवाटारबाट निस्केका थिए ।

बालुवाटार बैठक भाँडिएपछि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारुढ गठबन्धन टुटेको प्रतिक्रिया दिए । गठबन्धनमा सहमति हुन नसकेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘अब गठबन्धनको औचित्य सकियो’ भन्दै बैठक स्थल छाडेको पौडेलले बताए ।

‘हामीले गठबन्धन जोगाउन सकेनौँ । अब हाम्रो हातमा केही रहेन,’ पौडेलको भनाइ छ । त्यस्तै नेकपा एकीकृत समाजवादी सम्मानित झलनाथ खनालले पनि सत्ता गठबन्धन टुटेको बताए । ‘सत्ता गठबन्धनको यात्रा अवरुद्ध भयो’, खनालले रातोपाटीसँग भने, ‘दुवैले अडान नछोड्दा यो अवस्था आयो ।’ उनले एमालेसँग मिलेर सरकार बनाउने सम्भावना रहेपनि एमालेले गर्ने व्यवहारका आधारमा भर पर्ने बताए । बालुवाटार बैठक भाडिएपछि आइतबार अपराह्नबाट एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटामा नेताहरुको आउजाउ बढेको छ ।  

राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्रीका लागि दिएको ७ दिने समयसीमामा सकिन केही घण्टाअघिसम्म सत्ता गठबन्धनका नेताहरुबीच सहमतिको प्रयास भएको थियो । त्यसक्रममा माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति दुवैले आफु पहिला प्रधानमन्त्री हुनुपर्ने अडान छोड्न सकेनन् यही अडानका कारण सहमतिमा गठबन्धनले प्रधानमन्त्रीको दावी पेश गर्न नसक्ने अवस्था बनेपछि कांग्रेस र माओवादी गठबन्धन टुटाएर अलगअलग बाटो हिँड्न बाध्य भएका हुन् । २०७७ पुस मा केपी शर्मा ओलीले संसद विघटन गरेपछि यी दल संघर्षको सहकार्य गर्दै पछि सत्तारुढ बन्न पुगेका थिए । २०७८ जेठ ७ मा भएको दोस्रो विघटनपछि कांग्रेस, माओवादी केन्द्र र तत्कालिन नेकपा एमालेको माधव कुमार नेपाल समूह, जसपा र राष्ट्रिय जनमोर्चा मिलेर गठबन्धन बनाएका थिए । त्यसबेला उनीहरुले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दिएको रिटको फैसला गर्दै सर्वोच्चले २८ असारमा संसद पुर्नस्थापना गरेको थियो । अदालतको आदेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

 देउवा नेतृत्वको सरकार बनेसँगै मुलुकमा २०७९ वैशाखमा स्थानीय तहको निर्वाचन र २०७९ मंसिरमै प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको (आम चुनाव) निर्वाचन भएको थियो । निर्वाचन परिणामपछि दलहरु मिलेरै अघि बढ्ने सैद्धान्तिक सहमति गरेपनि व्यवहार त उनीहरू निर्वाचनपछि बन्ने सरकार कसको नेतृत्वमा हुने भन्नेमा अडान कांग्रेस र माओवादी दुवैले नछोड्दा अन्ततः सत्ता गठबन्धन २०७९ पुस १० मा औपचारिक रुपमा टुट्न पुगेको हो । सत्ता गठबन्धन टुटेसँगै संविधानको धारा ७६ को उपधारा ३ अनुसार राष्ट्रपतिले ठूलो दलको हैसियतमा कांग्रेस सभापति समेत रहेका देउवालाई प्रधानमन्त्री नियुक्त गर्नेछन् । यसरी नियुक्त हुने प्रधानमन्त्रीले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत नलिए संविधानको अर्को धारा अनुसार पुन सरकार निर्माणको प्रक्रिया सुरु हुन्छ ।