२०८१ बैशाख १४, शुक्रबार    

प्रतिनिधिसभा सदस्यको शपथपछि पाण्डेको मुख्यमन्त्री पद जान्छ कि रहन्छ ?

२०७९ पौष ७, बिहीबार १४:१९ बजे

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे दोहोरो भूमिकामा देखिएका छन् । बिहीबार संघीय सांसदको शपथ लिएसँगै उनको भूमिका प्रदेशको मुख्यमन्त्री र प्रतिनिधिसभा सदस्यको रुपमा रहने देखिएको छ ।

नेपालको संविधानको धारा १६९ को उपधारा १ (ग) को अवस्था बाहेक पाण्डे नै प्रदेशका मुख्यमन्त्री रहनेछन् । उक्त व्यवस्थाअनुसार प्रदेशसभा सदस्य नरहेमा मुख्यमन्त्री पद रिक्त हुने देखिएको छ । यतिबेला वाग्मती प्रदेशको नवनिर्वाचित सांसदहरुको शपथ पनि भएको छैन । पाण्डेले राजीनामा पनि दिएका छैनन् । यसै आधारमा पाण्डेले नै मुख्यमन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन् ।

‘संविधानमा नै व्यवस्था भएअनुसार म यथावत् छु,’ पाण्डेले भने, ‘संविधानले मुख्यमन्त्रीको पद रिक्त हुने पाँचवटा व्यवस्था गरेको छ । राजीनामा, प्रदेशसभा सदस्य नरहेमा, मृत्यु भएमा, विश्वासको मत प्राप्त नभएमा र अविश्वासको प्रस्ताव पारित भएमा । अहिले मेरो जस्तो अवस्थामा के गर्ने भन्ने व्यवस्था संविधानमा प्रस्ट छैन ।’

प्रदेश सरकार गठनको प्रक्रिया संघीय सरकार गठनजस्तै भएको भन्दै उनले प्रधानमन्त्रीले पनि राजीनामा नदिएकाले आफूले पनि राजीनामा नदिएको प्रस्ट पारे । ‘संविधानले नै प्रस्ट व्यवस्था नगरेको हुँदा मेरो भूमिका दोहोरोजस्तो देखिएको हो,’ उनले भने । यस सम्बन्धमा प्रदेशसभाले पनि कुनै कानुन बनाएको छैन । प्रदेशसभा नियमावलीमा समेत यस विषय उल्लेख छैन ।

‘संवैधानिक व्यवस्थाअनुसार मैले मुख्यमन्त्री पद छाड्नुपर्ने बाध्यता छैन । अर्को सरकार गठन नभएसम्म म नै मुख्यमन्त्री रहन्छु । तर, यो घटनालाई शिक्षाको रुपमा लिँदै संविधानमा आवश्यक संशोधन गर्नुपर्ने देखिन्छ,’ उनले थपे ।

यसले प्रदेशमा संक्रमणकालीन अवस्था आउने देखिएको छ । पुस दोस्रो साताका लागि प्रदेशसभा सदस्यको शपथ ग्रहणको तयारी प्रदेशसभा सचिवालयले गरेको छ । यसो हुँदा मुख्यमन्त्रीको रुपमा पाण्डेले थप केही दिन काम गर्ने देखिन्छ । योबीचमा संघीय सांसद पनि भएको र प्रदेशसभाका सदस्यबाट पनि नहटेको अवस्थामा पाण्डेको दोहोरो भूमिकाको विषयमा प्रश्न उठेको छ ।