२०८१ जेठ १, मंगलबार    

इन्द्र बानियाँले भने : मेरो विषयमा अफवाह फैलाइयो

२०७८ चैत्र १२, शनिबार १४:०० बजे

नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले गठबन्धनबारे आफुले दिएको अभिव्यक्तिलाई गलत ढंगले बुझेर अफवाह फैलाइएकोमा आपत्ति जनाएका छन् ।

शुक्रबारको केन्द्रीय कार्यसमितिको बैठकमा स्थानीय तहमा सत्ता साझेदार दलहरूबीच गठबन्धन गर्नु परे जिल्ला र प्रदेशसंग समन्वय गर्दा फाईदा पुग्ने भनेकोमा अधिकार कटौती गर्न खोजेको भन्दै एक केन्द्रीय नेताबाट भ्रम फैलाइएको उनले बताएका हुन् । 'टिकट सिफारिस र वितरणको अधिकारबारे म प्रष्ट छु, सम्बन्धित तहले सिफारिस गर्ने र अधिकार प्राप्त तहले वितरण गर्नुपर्छ भन्नेमा म प्रष्ट छु, विधान मैले पनि पढेको छु'-उनले भने-'गठबन्धन गर्नु परेको अवस्थामा जिल्ला र प्रदेशसंग पनि समन्वय र सल्लाह गर्दा फाइदै पुग्छ मात्रै भनेको हो ।'

टिकट वितरणमा कुनै तहसंग समन्वय गर्ने वा नगर्ने अधिकार सम्बन्धित तहमा हुनेमा आफू प्रष्ट रहेकाले भ्रम फैलाउने उद्धेश्यले अधिकार कटौती गर्न खोजेको भन्ने अभिव्यक्ति नदिन नेताहरूलाई बानियाँको सुझाव छ । भ्रम फैलाउनु भन्दा पार्टीको गाउँ टोलमा संचालन भइरहेका कार्यक्रममा सहभागी हुँदा कांग्रेसलाई फाइदा पुग्नेतर्फ नेताहरूले ध्यान दिनुपर्ने उनले बताए ।

'मेरो अभिव्यक्तिलाई गलत प्रचार गर्नु भन्दा कांग्रेसको चुनावी अभियानमा सहभागी हुँदा कांग्रेसलाई फाईदा पुग्छ, त्यसतर्फ लाग्न म ति नेतालाई बिनम्र अनुरोध गर्दछु।' बानियाँको अभिव्यक्तिलाई गलत ढंगले बुझ्दै केन्द्रीय सदस्य मोहन बस्नेतले टिकट वितरणको अधिकार खोस्न खोजिएको भन्दै संचारमाध्यममा अभिव्यक्ति दिएका थिए । त्यसपछि कांग्रेस नेता कार्यकर्तामा भ्रम पैदा हुने देखेर बानियाँले यसबारे प्रष्ट पारेका छन् ।