२०८१ बैशाख २३, आईतबार    

राजेन्द्र लिङ्देन दावी : बैंकमा पैसा छैन, नेताको घरमा छ

२०७८ चैत्र २७, आईतबार १७:५२ बजे

राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा राजनीति व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था उस्तै रहेकोभन्दै चिन्ता व्यक्त गरेका छन् ।

आइतबार हेटौंडामा भएको वृहत कार्यकर्ता भेललाई सम्बोधन गर्दै लिङ्देनले देश टाट पल्टिनबाट जोगाउन सरकारसँग कुनै योजना नै नभएको दावी गरे । ‘बैंकमा पैसा छैन । तर, नेताको घरमा छ । कांग्रेस, एमाले माओवादीले देश टाट पल्टाए, बैदेशिक ऋण अनुत्पादक क्षेत्रमा लगानी भयो ।’, उनले मुलुक असफल राष्ट्रको बाटोमा गएको बताए । ‘नेपाललाई श्रीलंका बनाउन खोजियो । कांग्रेस एमाले माओवादीलाई असफल हुने छुट छ । मुलुक असफल बनाउने छुट छैन ।’, उनले देशले कांग्रेस, एमाले, माओवादीको विकल्प खोजेको दावी गरे ।

मुलुकमा राजसंस्था र हिन्दु राष्ट्र आवश्यक रहेको उनको ठम्याइ थियो । ‘ठीक पार्टी र ठीक नेता चिन्न नसकेकोले जनताले दुख पाए । १५ बर्ष पार्टी चलाउँदा केही गर्न नसक्नेले फेरि केही गर्लान् भन्ने आश अब नगरौं ।’, उनले पार्टी प्रमुख वा प्रधानमन्त्री २ पटक नेतृत्व गर्दा पनि केही गर्न नसक्नेलाई फेरि मौका दिन नहुने दावी गरे ।

लिङ्देलले कम्युनिस्टहरुले राज परिवारबारे गलत प्रचार गरेको आरोप समेत लगाए । राज परिवारबारे कम्युनिस्टका नेताहरुले दुष्प्रचार गरेर आफू महान देखाउन खोजेको उनको दावी थियो । ‘कम्युनिस्ट नेताहरुले राजा, राज परिवारबारे दुष्प्रचार गरेका थिए, राजाले स्वीजरल्याण्डको बैंकमा अर्बौं रकम र सुन लगेर राखेका छन् । त्यो नेपाल ल्याउन सकियो भने, प्रत्येक नेपालीको चार विहाग जग्गा र सुन किन्न सक्छन् ।’ उनले भने, ‘आज राजाको शासन नभएको १५ बर्ष बितिसकेको छ, स्वीजरल्याण्डको बैंकमा कति रकम रैछ, राजाको खुलासा हुन सकेको छ ?’

भेलामा करिब सातसय जना राप्रपा प्रवेश गरेको दावी गरिएको छ ।