२०८१ बैशाख २२, शनिबार    

परेवाभीरको अवलोकन, कालोपत्रे गरिने आश्वासन

२०७९ असार ३१, शुक्रबार १३:३८ बजे

एउटा भिमकाय चट्टानका कारण दुई गाउँपालिका जोड्ने सडक निर्माण हुन नसक्दा स्थानीयले भोग्दै आएको पीडा केही वर्षभित्र हट्ने आश्वासन दिइएको छ । बागमती प्रदेशका तीन जना मन्त्रीले बिहीवार राक्सिराङ गाउँपालिकाको ४ र ५ नम्बर वडा जोड्ने परेवाभिरको स्थलगत निरीक्षण गरेका थिए । बागमतीका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेल, भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भँडेल र वन तथा वातावरण मन्त्री बिशाल खड्का परेवाभीरको छेवैमा पुगेर सडक खण्डको अवलोकन गरेका हुन् ।

परेवाभीर त्यही हो, जहाँ वर्षेनी स्थानीय खोलामा आएको बाढीसँग बगेर ज्याउन गुमाउने  गर्छन । परेवाभीरमा सडक सञ्जाल निर्माण त टाढाको कुरा, पैदल हिँड्ने गोरेटोसमेत बन्न सकेको छैन । ठूलो चट्टानको परेवाभीर ठाडोपनि रहेकाले सडक र पैदल यात्राको सडक गोरेटो बन्न नसकेको हो । परेवाभीर हुँदै  कैलाश गाउँपालिका पुगिन्छ । वर्षामा मनहरी खोलामा बाढी आएसँगै स्थानीयले बाढीमै पसेर ओहोरदोहोर गर्नुपर्ने बाध्यता छ

।पश्चिम मकवानपुरको मनहरी बजारबाट धादिङको आदमघाट जोड्ने छोटो दूरीको सडक परेवाभीर हुँदै डिजाइन गरिएको छ । उक्त सडकको पूरा ट्रयाकसमेत खुलेको छैन् । आगामी आर्थिक वर्ष २०७९÷०८० मा बागमती सरकारले ३४ करोड रुपैयाँ बिनियोजन गरी बाटो निर्माणलाई तीब्रता दिन लागेको छ । उक्त सडक खण्ड निर्माण हुँदा परेवाभीर हुँदै पक्की सडक बन्ने निश्चित छ ।

बिहीवार मन्त्रीहरुले परेवाभीर खण्डमा पुगेर प्रदेश सांसद, स्थानीय जनप्रतिनिधिसँग छलफल गरेका थिए । प्रदेश सांसद ओमबहादुर ग्लान, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष बनस्तम थिङ, राक्सिराङ गाउँपालिका–४ का वडा अध्यक्ष सञ्जय कोइराला, कैलाश गाउँपालिकाका निवर्तमान अध्यक्ष टंकबहादुर मुक्तान, नेकपा माओवादी केन्द्र राक्सिराङ गाउँपालिका कमिटी अध्यक्ष हस्तबहादुर मुक्तानलगायतले मन्त्रीहरुलाई परेवाभीर तत्काल निर्माण हुनुपर्ने बताउँदै स्थानीयले दैनिक भोग्दै आएको दुःख बारे जानकारी गराएका थिए ।

मनहरीदेखि आदमघाट बाटोको लागि आगामी आर्थिक वर्षमा ३४ करोड बजेट छुट्याइएको आर्थिक मामिला तथा योजना मन्त्री जम्मकट्टेलले जानकारी दिए । आगामी आवदेखि उक्त सडक खण्ड निर्माण हुने उनले विश्वास दिलाए । भौतिक पूर्वाधार विकास मन्त्री भँडेलले निरन्तर ३ बर्षमा कालोपत्रे हुने गरी सडक निर्माण हुने बताए । यसअघि बागमती सरकारलाई मनहरी–आदमघाट सडक निर्माणका लागि गरेको पहल निरर्थक भएको थियो ।

तत्कालीन नेकपा सरकारले यस सडक खण्डलाई प्राथमिकताका साथ बजेट बिनियोजन नगरेको स्थानीय जनप्रतिनिधिहरु गुनासो गर्छन । धादिङको गल्छी, आदमघाट र मलेखुमध्ये कुन बिन्दुमा बाटो निकाल्ने भन्ने कुरामा राजनीतिक लडाइँजस्तो देखिएकाले पनि बिगतमा यो बाटोबारे स्पष्ट धारणा बनाउन नसकिएको मन्त्री जम्मकट्टेलले बताए । परेवाभीरको भीर भत्काएरसडक निर्माण नगरिने उनको भनाई छ ।


मनहरी–आदमघाट ६५ किलोमिटर सडक खण्ड निर्माण गर्ने जिम्मा अब प्रदेश सरकारको रहेको जम्मकट्टेले बताए ।राक्सिराङ अध्यक्ष मल्लले हालसम्म भएका पहल, प्रगति, राजनीतिक खिचातानीबारे समेत मन्त्रीहरुलाई जानकारी गराएका थिए । मनहरी–आदमघाट सडक खण्डको ६५ किलोमिटरमध्ये परेवाभीर खण्डमा ६ सय मिटर बाटो जोखिम छ ।परेवाभीरमा पर्खाल उठाएर सडक निर्माणको कार्य राक्सिराङ गाउँपालिकाको २ करोड र संघीय सरकारको तर्फबाट २ करोड समेत लगानी गरी निर्माणाधीन अबस्थामा छ । गतबर्षको बाढीले परेवाभीर खण्डमा क्षति पु¥याएपछि यसपटक निर्माण कम्पनीले ठूला–ठूला ढुंगा थुपारेर पानी रोक्ने प्रयत्न गरेको छ । परेवाभीरको विपरिततर्फ रहेको बगर र केही अग्लो भूभागलाई काटेर पानी बग्न सजिलो बनाइएको छ ।