२०८१ बैशाख १७, सोमबार    

हेटौंडाको सडक विस्तार गर्ने उपमहानगरको सर्वसम्मत निर्णय

२०८० असार १६, शनिबार १५:५१ बजे

 

 

लामो समयदेखि चर्चामा रहँदै आएको हेटौंडा बजार क्षेत्रको सडक विस्तारका लागि हेटौंडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरु सहमत भएका छन् । एसियाली विकास बैंकको लगानीमा विस्तार तथा निर्माण हुने पूर्वपश्चिम राजमार्जको हेटौंडा बजार क्षेत्रका लामो सयमदेखि विवाद रहँदै आएको थियो ।

विवादका कारण अदालतसम्म पुगेका हेटौंडा बजार क्षेत्रका बासिन्दालाई २५ गजसम्म भत्काउन सकिने भन्दै आएको निर्णय कार्यान्वयन हुन नसकेर रोकिएको समयमा जनप्रतिनिधिहरुको सहमति जुटेको हो । 

डिभिजन सडक कार्यालयले हेटौंडा बजार क्षेत्रमा २५ मिटर सडक विस्तार गर्न असार १० गते राष्ट्रिय दैनिक पत्रिकामा सूचना जारी गरेको थियो ।
‘क्षतिपूर्ति र व्यवसायीको समस्याको विषयमा स्थानीय सरकारले आवश्यक पहल र समन्वय गर्छ ।’, उपमहानगरका प्रवक्ता सविन न्यौपानेले भने ।

 सडक विस्तारको विषयमा जिल्लाका दलहरुबीच मत भिन्नता सिर्जना भइरहेको अवस्थामा शनिबार बसेको हेटौंडा उपमहानगरपालिकाको १३ औं नगरसभाको दोस्रो बैठकमा सहभागी सम्पूर्ण जनप्रतिनिधिले ताली बजाएर सर्वसम्मत रुपमा सडक विस्तारको पक्षमा उभिएका हुन् ।

नगरप्रमुख मीनाकुमारी लामाले सडक विस्तारको विषयलाई सभामा प्रवेश गराउँदै आफूहरू एक मतका साथ उभिन नसके हेटौंडा बजारको भविष्य सकिने चेतावनी दिएपछि जनप्रतिनिधिहरुले विस्तार आवश्यक रहेको बताएका थिए । सडक विस्तारको अभियानमा आफूहरु पनि सँगै रहेको भन्दै उपमहानगरका वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा नगरसभा सदस्यहरुले उठेर एकमतले ताली बजाउँदै समर्थन जनाएका हुन् ।

पछिल्लो समय सडक विस्तारको विषय पेचिलो बन्दै गएको र हेटौंडा बजार विस्तारका लागि पनि आवश्यक रहेकाले उपमहानगरको धारणा नगरसभाबाटै बाहिर ल्याएको नगर प्रमुख लामाले बताइन् । उनले एसियाली विकास बैंक हेटौंडा बजारलाई छोडेर पथलैयाबाट कर्रापुल र राप्ती पुल पारिबाट पश्चिम क्षेत्रको सडकमा मात्र ठेक्का गर्ने पक्षमा पुगेकाले बजार संकटमा पर्ने अवस्था आएको बताइन् ।

हेटौंडा बजार विस्तार आवश्यक रहेको उपप्रमुख राजेश बानियाँले बताए । उनले साँघुरो सडकका कारण बजारको शौन्दर्यमा कमी आइसकेको र दुर्घटनाको जोखिम बढेको भन्दै विकसित सडक बनाउने अवसरबाट बाहिर जान नहुने बताए ।

डिभिजन सडक कार्यालयले हेटौंडा बजार क्षेत्रमा २५ मिटर सडक विस्तार गर्न असार १० गते राष्ट्रिय दैनिक पत्रिकामा ३५ दिने सूचना प्रकाशन गरी काम अघि बढाउने तयारी थालेको थियो ।