२०८१ जेठ ४, शुक्रबार    

पाँचवर्षमा १ हजार ७८ लागूऔषध कारोबारी पक्राउ

२०७८ माघ ७, शुक्रबार १९:०४ बजे

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरले पछिल्लो पाँच वर्षमा गाँजासहितको लागूऔषध ओसारपसार गर्ने १ हजार ७८ जनालाई पक्राउ गरेको छ । तीमध्ये अधिकांश राक्सिराङका चेपाङ समुदाय रहेका छन् ।

चेपाङहरू अशिक्षित र बेरोजगार हुनुका साथै गरिवीका कारण भोकमरीबाट जोगिन लागूऔषध ओसारपसार कार्यमा संलग्न हुने गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालका अनुसार मकवानपुर प्रहरीले आर्थिक वर्ष २७३/७४ मा २०३ जना, ०७४/७५ मा २३७ जना, ०७५/७६ मा २०६ जना, ०७६/७७ मा १८७ जना, ०७७/७८ मा १५१ जना र चालु आवको हालसम्म ९४ जनालाई लागूऔषध सहित पक्राउ गरेको छ ।

पक्राउ परेकामध्ये १ सय ६ जना भारतीय रहेका छन् भने बाँकी ९ सय ७२ जना नेपाली नागरिक हुन् । त्यसमा पनि मकवानपुरको राक्सिराङ र कैलास गाउापालिकाका बासिन्दा बढी छन् । भोकमरीमा पिल्सिने गरेका चेपाङ समुदाय थोरै पैसाको लोभमा लागूऔषध ओसारपसार गर्ने भरिया बन्ने गरेका छन् । यसले गर्दा कैयौं चेपाङ प्रहरीको फन्दामा परेर कारागार पुगेका छन् ।