२०८१ बैशाख ११, मंगलबार    

राष्ट्रिय भलिबल प्रतियोगिताको तयारी पूरा

२०८० जेठ १४, आईतबार १८:१८ बजे

हेटौंडामा यसै साताबाट सुरु हुने पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान हेटौंडाको आयोजनामा हुने प्रतियोगिताको विषयमा आइतबार पत्रकार सम्मेलन गर्दै प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टले जेठ १६ गतेदेखि २० गतेसम्म हेटौंडा–४, हुप्रचौरस्थित कोर्टमा भलिबल हुन लागेको बताए । प्रतियोगितामा दश टोलीको सहभागिता रहने भएको छ । प्रतियोगितामा पुरस्कारसहित करिब २५ लाख खर्च हुने अनुमान गरिएको छ ।

प्रतियोगिताको विजेताले दुई लाख नगदसहित ट्रफी र मेडल प्राप्त गर्ने छन् भने उपविजेताले एकलाख नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सेमिफाइनलमा पुग्ने दुई टिमलाई नगद ५० हजार सान्त्वना पुरस्कार प्रदान गर्ने जनाइएको छ । खेलको सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार र विधागत उत्कृष्ट खेलाडीलाई ५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितालाई हेटौंडा उपमहानगरपालिका, प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेश, हेटौंडा १९ र ३ नम्बर वडा कार्यालय सहयोगीको रुपमा रहने आयोजकले जनाएको छ । यसवर्ष पुरुष तर्फको राष्ट्रिय खेल भएता पनि आगामी वर्षदेखी महिलाहरुको पनि प्रतियोगिता गरिने मकवानपुर जिल्ला भलिबल संघका अध्यक्ष बसन्त सिटौलाले बताए ।

प्रतियोगितामा नेपाल आर्मी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, मकवानपुर जिल्ला भलिबल संघ, बागमती प्रदेश भलिबल टिम, मधेश प्रदेश भलिबल टिम, मणिमुकुन्द भलिबल टिम, गण्डकी प्रदेश भलिबल टिम, वालिङ भलिबल टिम स्याङ्जा र पाथिभरा भलिबल टिम झापाको प्रतिस्पर्धा रहने सिटौलाले बताए ।