२०८३ बैशाख ५, शनिबार    

एमालेको अधिवेशनको उद्घाटन अध्यक्ष ओलीले गर्ने, ७ सय ७९ प्रतिनिधिको सहभागिता रहने

२०८१ जेठ १५, मंगलबार १९:०३ बजे

एमाले मकवानपुरको १२ औं जिल्ला अधिवेशन जेठ १८ र १९ गते हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा हुने भएको छ ।

अधिवेशनको उद्धाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट हुने र नेकपा एमालेका केन्द्रीय नेताहरु कार्यक्रममा सहभागी हुने पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ । अधिवेशनबाट नयाँ नेतृत्वसमेत चयन गरिन लागिएको हो ।

अधिवेशनका  लागि मकवानपुर जिल्लाका १० वटा पालिकाहरुबाट प्रतिनिधिहरु चयन भइसकेका छन् ।

अधिवेशनमा ७ सय ७९ जना प्रतिनिधिहरुको सहभागिता रहनेछ । जसमा अन्य समुदायबाट २० जना बराबर १ जना, महिलाबाट १५ जना बराबर १ जना र पेशागत, मजदुर र दलित समुदायबाट १० जना बराबर १ जना प्रतिनिधि चयन गरिएको छ ।

प्रतिनिधि चयनमा ३३ प्रतिशत महिला र १५ प्रतिशत यूवा समावेश गरिएका छन् । अधिवेशन पूर्व जेठ १७ गते जिल्लाभर मोटरसाईकल याली आयोजना गरिने र सबै वडा कमिटि, जनवर्गीय कमिटि र तहगत कमिटिले अधिवेशनको ब्यानर राखिने जनाइएको छ ।

सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गराउन २ सय जना स्वयंसेवक परिचालन गरिने भएको छ । अधिवेशनका लागि विभिन्न १२ वटा समितिहरु बनाई सम्पूर्ण तयारीको बाँडफाँड गरिएको छ ।

सम्मेलनमा एमाले मकवानपुर जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले केन्द्रीय निति योजना र निर्देशन बमोजिम अधिवेशन गरिन लागिएको जानकारी दिए । ‘ अधिवेशन पौषमा गरिनुपर्ने हो, तर देशैभरि जेठ महिनाभित्र अधिवेशन सक्काउनुपर्ने निर्देशन आएको छ । जिल्ला कमिटिको संख्या धेरै भएकाले मकवानपुरमा पनि विधान कार्यान्वयन गर्न अधिवेशन ७ महिना अगाडिनै गरिनुपरेको हो ।’ उनले भने ।

मकवानपुर जिल्लामा नेकपा एमालेका ११ हजार ६ सय ८४ जना पार्टि सदस्य रहेका छन् । बागमतीमा १३ वटा जिल्लाहरुमध्ये ९ वटा जिल्लाहरुमा एमाले अधिवेशन सम्पन्न भइसेको छ ।

अधिवेशनबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा एमाले पार्टी जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, पोलिटव्युरो सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज देवी ज्ञावली, एमाले केन्द्रीय सदस्य रामेश्वर राना, केदार न्यौपाने लगाएत सदस्यहरुको सहभागिता रहेको थियो ।