२०८१ बैशाख २९, शनिबार    

दशवटै पालिका निर्वाचन अधिकृतको कार्यालय स्थापना

२०७९ बैशाख ८, बिहीबार १०:५५ बजे

स्थानीय तह निर्वाचनका लागि स्थानीय तहमा बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

वैशाख ३० गतेका लागि तोकिएको निर्वाचनका लागि देशभर एकैपटक कार्यालय स्थापना गरिएको हो । जिल्ला न्यायाधिश तथा मुख्य  निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठ तथा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको उपस्थितिमा कार्यालय स्थापना गरिएको हो । जिल्लाको दशवटै स्थानीय तहमा कार्यालय स्थापना गरिएको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन अधिकृतहरू नियुक्तिपत्र लिएर पालिकास्तरमा खटिइसकेका छन् । हरेक जिल्लामा एक जना मुख्य निर्वाचन अधिकृत हुन्छन् ।

कार्यालय स्थापना गर्दा सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, सम्बन्धित जिल्लाको निर्वाचन कार्यालय, अन्य कुनै सरकारी कार्यालय र सरकारी स्वामित्वमा रहेको कार्यालयको भवन प्रयोग गर्नुपर्ने सर्त निर्वाचन आयोगले तोकेको छ । सरकारी भवन उपलब्ध नभए मात्र भाडाको घर लिनुपर्ने हुन्छ । निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, सहायक कर्मचारी, लेखापाल, कम्प्युटर अपरेटर, सवारी चालक, कार्यालय सहयोगी, पीएसओ (निजी सुरक्षा अधिकारी) सहित नौ जना कर्मचारी रहनेछन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पनि नौ जनै कर्मचारी रहनेछन् ।

निर्वाचन अधिकृतको कार्यालय सञ्चालन तथा व्यवस्थापन खर्च २ लाख ५५ हजार रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने २ लाख ८५ हजार रुपैयाँ बजेटको सिलिङ दिइएको छ । कार्यालयको सुरक्षामा बढीमा १० जनासम्म सुरक्षाकर्मी परिचालन हुनेछ । कार्यालयमा खटिने नियुक्ति भएदेखि सुविधा पाउनेछन् । मुख्य निर्वाचन अधिकृतले जिल्लाभरिको स्थानीय तहमा समन्वय गर्न प्रत्येक स्थानीय तहको एक हजारका दरले भत्ता पनि पाउनेछन् । निर्वाचन अधिकृतले निर्वाचन अवधिभर एकमुष्ठ ५ हजार सञ्चार सुविधा पाउनेछन् । सुरुको तलब स्केलको एक सय प्रतिशत भत्ता पाउनेछन् । यसबाहेक हरेक दिनको खाजा खर्च पनि पाउँछन् । निर्वाचन अधिकृतको कार्यालयमा खटिनेले एक सय प्रतिशत भत्ता र खाजा खर्च पाउनेछन् ।