२०८१ बैशाख १९, बुधबार    

विमान दुर्घटनाले शोकमा डुब्यो धनुषा

२०७९ जेठ १६, सोमबार १६:२२ बजे
पोखराबाट मुस्ताङको जोमसोमका लागि आइतबार बिहान उडेको तारा एयरको बिमान दुर्घटनामा धनुषाको एकै परिवारका सात जना परेपछि गाउँ शोकमा डुबेको छ ।
 
बिमान दुर्घटनामा १३ जना नेपाली मध्ये सात जना धनुषाको मिथिला नगरपालिका–११ लोटाका हुन् । बिमान दुर्घटनामा अन्दाजी ४२ वर्षिय राजनकुमार गोलेसहित उनको आफन्त परेका छन् । राजनका बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ्ग, काका पुरुषोत्तम गोले, काकी तुल्सादेवी तामाङ्ग, मामा मकरबहादुर तामाङ्ग र माइजू सुकुमाया तामाङ्ग गरी सात जना एक परिवारका सदस्य बिमान दुर्घटनामा परेका छन् ।
 
उनीहरु मुक्तिनाथ दर्शन गर्न जोमसोम उडेका थिए। एकै परिवार तथा एउटै टोलमा बस्ने सात जना बिमान दुर्घटनामा परेपछि गाउँवासीमा रुवावासी चलेको छ । दुर्घटनामा परेका आफन्तलाई सान्त्वना दिन गाउँलेहरु घरमा भेला भएका छन् ।
 
सान्त्वना दिन मधेस प्रदेश सरकारका उधोग, पर्यटन तथा वनमन्त्री सत्रुधन महतो आफन्तको घर पुगेका थिए । गोले परिवारसंग महतोको निकट सम्बन्ध छ ।