२०८१ बैशाख २३, आईतबार    

पत्रकार विष्टको पुस्तक ‘छेलिएका अनुहार’ बजारमा

२०७९ असार २३, बिहीबार १८:१० बजे

बरिष्ठ पत्रकार प्रताप विष्टले लेख्नुभएको पुस्तक ‘छेलिएका अनुहार’ बजारमा आएको छ । अल्पसंख्यक चेपाङ, बनकरिया समुदाय र राणाकालमा गाडी बोक्नेहरुको विषयमा तयार पारिएको कृति सांग्रीला पब्लिकेशनले प्रकाशन गरेको हो । विष्टले लेख्नुभएको पुस्तक यही असार ३२ गते शनिबार हेटौंडामा औपचारिक रुपमा सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ ।

२०४९ साल फागुन १३ गतेदेखि कान्तिपुर दैनिकमा आवद्ध हुनुभएका विष्टले २०५० सालमा अल्पसंख्यक चेपाङ समुदायको विषयमा समाचार लेख्न थाल्नुभएको हो । यस्तै २०५२ सालमा वनमै रहेका बनकरिया समुदायको विषयमा समाचार लेख्नुभएका विष्टलाई चेपाङ र बनकरियाको पत्रकारको रुपमा उपमा समेत दिने गरेको छ ।

चेपाङ, बनकरिया र गाडी बोक्नेको विषयमा तीन खण्डमा पुस्तकलाई विभाजन गरिएको उल्लेख गर्नुहुादै विष्टले भन्नुभयो, ‘यो विशेषगरी चेपाङ र बनकरिया समुदायको विषयमा सुरुवातदेखि नै लेखिएको समाचारहरुकै एकीकृत आकारको रुपमा रहेको छ । यो एउटा दस्तावेज हो ।’ चेपाङ र बनकरिया समुदायका समस्या नै समस्याको कथाहरु समेटिएको विष्टले बताउनुभयो ।

विष्टको पहिलो कृतिको रुपमा ‘छेलिएका अनुहार’ सार्वजनिक हुादैछ । कान्तिपुर दैनिकका लागि मकवानपुर जिल्लाबाट समाचार लेख्नुहुने विष्ट वरिष्ठ सहायक उपसम्पादक हुनुहुन्छ । कान्तिपुरमा आवद्ध हुनुअघि विष्ट हेटौंडाबाट प्रकाशित हुने कुराकानी साप्ताहिक र काठमाडौंबाट प्रकाशित हुने योजना साप्ताहिकमा समाचार लेख्नुहुन्थ्यो ।

पुस्तक सार्वजनिक गर्ने कार्यक्रम बागमती प्रदेश सरकारका मन्त्री सन्तबहादुर चेपाङ, कान्तिपुर दैनिकका सम्पादक सुधीर शर्माबाट संयुक्तरुपमा हुनेछ । हेटौंडा–२ स्थित एभोकाडो होटेलमा असार ३२ गते दिनको १ बजे औपचारिकरुपमा पुस्तक सार्वजनिक गरेर पुस्तकमाथि चर्चा गर्ने कार्यक्रम तय भएको छ ।