२०८१ भाद्र ३०, आईतबार    

पालुङमा आलु र काउलीको स्तम्भ

२०७८ माघ ९, आईतबार १३:२३ बजे

हेटौंडा/ तरकारी खेतीका लागि प्रशिद्ध मकवानपुरको उत्तरी क्षेत्रमा रहेका थाहा नगरपालिकामा आलु र काउलीको स्तम्भ निर्माण गरिएको छ ।

थाहा–४ स्थित नयाँगाउँमा त्रिभुवन राजपथछेउमै स्तम्भ निर्माण गरिएको हो  । वाग्मती प्रदेश सरकारको आर्थिक सहयोगमा ७० किलोको कृत्रिम काउली र ३५/३५ किलोका दुईवटा कृत्रिम रातो आलुको स्तम्भ बनाइएको हो । स्तम्भमा राखिएका आलु–काउली इटहरीका कालीगढले तयार पारेका निर्माण समितिका अध्यक्ष विनोद केसीले बताए ।

‘करिब ६ लाखमा बनाउन लगाएर आलु र काउली ल्याइएको हो,’ उनले भने । थाहा भ्रमण गर्ने पर्यटकलाई नगरपालिकाको मुख्य पेसागत पहिचानबारे जानकारी दिन र पर्यटन प्रवद्र्धन गर्न आलु–काउली स्तम्भ बनाइएको नगर प्रमुख लवशेर विष्टले बताए । थाहा नगरबाट बर्सेनि करिब ५० करोडको आलु र १२ करोडको काउली बिक्री हुने गरेको छ । स्तम्भ तयार भएसँगै त्रिभुवन राजपथ भएर आउजाउ गर्ने यात्रुले गाडी रोकेर स्तम्भ अवलोकन गर्ने र सेल्फी खिच्ने गरेका स्थानीयले बताएका छन् ।