२०८१ बैशाख १८, मंगलबार    

चौकीटोलबाट लागूऔषधसहित दुईजना पक्राउ

२०७९ चैत्र २४, शुक्रबार १६:०४ बजे

विशेष सूचनाको आधारमा मकवानपुर प्रहरीले लागुऔषधसहित दुई जना भारतीय नागरिकलाई हेटौंडामा पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतीय प्लेट नम्बर भएको बोलेरो चालक भारतको सिवान जिल्ला पन्चायत–५ का २६ वर्षीय अमित कुमार र गाडीमा सवार सोहि स्थानका २३ वर्षीय अनिल कुमार रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

वीरगंजबाट काठमाडौं जान आएको उक्त गाडीलाई विहीबार विशेष सूचनाको आधारमा हेटौंडा–१ स्थित चौकीटोलमा प्रहरीले सुरक्षाजााच गर्दा लागूऔषध फेला परेको हो ।

प्रहरीका अनुसार उनीहरुको साथबाट लागूऔषध वनरेक्स २ सय ४० बोतल (प्रति बोतल १ सय एमएल), डाइजेपाम १३ बट्टा (प्रति बट्टा ५० एम्पुल), नोरफिन ६ बट्ट (प्रति बट्टा १ सय एम्पुल), फेनारगन १ सय २० पत्ता (प्रति पत्ता ५ एम्पुल) फेला परेको  छ । प्रहरीले लागुऔषधसहित अनिल र अमितलार्ई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।