२०८१ बैशाख १७, सोमबार    

हेटौंडामा आफ्नो बर्खास्तीको प्रस्ताव आफैँ पेश गर्दै एन्फा अध्यक्ष नेम्वाङ

२०८० कार्तिक २३, बिहीबार १२:०९ बजे

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङले आफ्नो बर्खास्तीको प्रस्ताव आफैँ पेश गर्ने भएका छन् ।

आज मगवानपुरको हेटौँडामा हुन लागेको विशेष साधारणसभामा आफ्नो बर्खास्तीको प्रस्ताव आफैँ पेश गर्ने भएका हुन। संघको विधान अनुसार नै साधारणसभामा प्रस्ताव लैजाने अधिकार अध्यक्षलाई हुन्छ। यो साधारणसभाको मुख्य एजेन्डानै अध्यक्ष बर्खास्ती गर्ने बताइएको छ।  

सुरुमा अध्यक्ष र महासचिव दुवैलाई बर्खास्ती गर्न संघ भित्र व्यापक गृहकार्य भइरहेको थियो। पछि महासचिवको नियुक्तीनै अध्यक्षले गर्ने प्रावधान भएकाले अध्यक्षलाई बर्खास्ती गरेपछि महासचिव स्वतः बर्खास्त हुने भन्ने निष्कर्षमा संघका अन्य पदाधिकारी तथा साधारण सदस्यहरु पुगेका छन्।  

एन्फाका अधिकांस सदस्यहरुले अध्यक्ष नेम्वाङले काम गर्न नसकेको भन्दै गत भदौदेखिनै बिरोध गर्दै आएका थिए। उनीहले अध्यक्ष विरुद्घ १८ बूँदे आरोप लगाउदै एन्फा सचिवालयमा निवेदनसमेत दिएका थिए। ती सदस्यले अध्यक्ष नेम्वाङ मात्र नभई महासचिव किरण राईलाई पनि बर्खास्ती गर्नुपर्ने मागसहितको निवेदन दिएका हुन्।  

अध्यक्ष नेम्वाङको बर्खास्तीको प्रस्तावमा आजै मतदान हुने बताइएको छ। एन्फाका मतदाता तर्फ जिल्ला, क्लब र संघमा गरी १ सय ७ सदस्य छन । यीमध्ये ८७ जनालाई मात्र मत दिने अधिकार दिइएको छ।