२०८० चैत्र १६, शुक्रबार    

रोटर्याक्टको अध्यक्ष सचिव भेला हेटौंडामा सम्पन्न

२०७९ भाद्र २६, आईतबार १८:३७ बजे
रोटर्याक्ट डिष्ट्रिक्ट ३२९२ को आयोजना तथा रोटर्याक्ट क्लव अफ हेटौंडा र रोटर्याक्ट क्लव अफ मकवानपुरको आतिथ्यतामा भएको अध्यक्ष सचिव भेला (पिएस मिट) बागमती प्रदेशको राजधानी हेटौंडामा सम्पन्न भएको छ । शनिबार हेटौंडाको एभोकाडो एण्ड अर्किड रिसोर्टमा भएको भेलामा देशैभरका रोटर्याक्ट क्लवका अध्यक्ष–सचिव भेला भएका थिए ।
 
हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले भेलाको उद्घाटन गरेकी हुन् । उनले सामाजिक संघसंस्थामा आबद्ध युवाहरुलाई राष्ट्र निर्माणको अभियानमा समेत सघाउ पुर्याउन अनुरोध गरिन् । ‘रोटरी, रोटर्याक्ट लगायतका सामाजिक संघसंस्थाले पनि नेपाली समाजमा महत्वपूर्ण योगदान पुर्याइरहेका छन्’, उनले भनिन्, ‘सामाजिक कामसंगै मुलुकको विकासमा समेत लागिपर्न अनुरोध गर्न चाहन्छु ।’ कार्यक्रमले हेटौंडामा रहेका पर्यटकीय गन्तव्यहरुलाई देशैभर चिनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै उनले अवलोकन भ्रमणको निम्ति अनुरोध समेत गरिन् ।
 
रोटर्याक्ट क्लव अफ हेटौंडाका अध्यक्ष मिलन ढकालको अध्यक्षतामा भएको उद्घाटन समारोहमा रोटर्याक्टका डीआरआरसी दुर्गाप्रसाद सुवेदी, डीआरआर लक्ष्मण खरेल, रोटरी क्लव अफ हेटौंडाका अध्यक्ष सुयसराज पराजुली, रोटर्याक्ट क्लव अफ मकवानपुर अध्यक्ष प्रदीपकुमार राई लगायतले मन्तव्य व्यक्त गरेका थिए । हरेक रोटा वर्षको पहिलो त्रैमासिकमा आयोजना गरिने अध्यक्ष सचिवको भेलाले रोटर्याक्टसंग सम्बन्धित विभिन्न मुद्दा तथा प्रस्तावहरुमा छलफल गर्ने गर्दछ ।
 
कार्यक्रममा रोटर्याक्ट क्लव अफ बुटवल साउथ, युनाइटेड बीरगञ्ज र बर्दिबासले सहसंयोजनको भूमिकामा रहेको थियो । कार्यक्रमलाई महेन्द्र प्युरिफायरले मुख्य प्रायोजन गरेको थियो भने सागर डिष्टिलरी, युनिलिभर नेपाल, स्मार्ट स्टडी, कान्तिपुर म्यानेजमेन्ट, एभरेष्ट कलर, एमएम पोलिमर्स, सिद्धार्थ बैंक, महालक्ष्मी विकास बैंक, जोभियल, कफिबार लगायतले प्रायोजन गरेको थियो ।
 
कार्यक्रममा करिब १ हजार जना रोटर्याक्ट प्रतिनिधिहरु सहभागी थिए । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका, रोटरी क्लव अफ हेटौंडा, रोटरी क्लव अफ मकवानपुरले आवश्यक साथ र सहयोग गरेको थियो ।