२०८१ बैशाख १७, सोमबार    

आगामी प्रधानमन्त्रीको विषयमा सहमति भएको छैन : डा. महत

२०७९ कार्तिक २२, मंगलबार ०९:४३ बजे

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचनपश्चात् बन्ने सरकारको नेतृत्व गर्ने विषयमा सत्तारुढ गठबन्धनभित्र सहमति भइनसकेको बताएका छन् ।

मंगलबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा डा. महतले आगामी सरकारको विषयमा औपचारिक निर्णय वा कुनै सहमति नभएको प्रष्ट्याएका हुन् । ‘प्रचण्ड जीले दावी गर्नु भएको छैन । समर्थक शुभेच्छुकले भन्नु भएको होला । प्रधानमन्त्रीको विषयमा औपचारिकरुपमा कुनै सहमति भएको छैन ।’, उनले भने ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ सिटमध्ये सत्तारुढ गठबन्धनको नेतृत्व गर्दै ९१ मा कांग्रेस एक्लैले उम्मेदवारी दिएको कारण पनि कांग्रेसले गठबन्धनको नेतृत्व गरिरहेको प्रष्ट हुने उनको भनाइ थियो । ‘प्रत्यक्षतर्फको ७४ सिटमा गठबन्धनमा रहेको अन्य चार दलको उम्मेदवारी रहेको छ । यहाँबाटै प्रष्ट हुन्छ नेतृत्वदायी भूमिकामा कांग्रेस रहेको छ भन्ने ।’, उनले सहमति नभएपनि कांग्रेसकै नेतृत्वमै आगामी सरकार अगाडि बढ्ने सम्भावना दोहोर्‍याए ।

उनले देशमा संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि जोड्ने नेतृत्व आवश्यकता रहेको औंल्याउँदै त्यसको नेतृत्व वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले मात्र गर्न सक्ने दावी गरे । ‘ओली जीको नेतृत्व जोड्ने नेतृत्व होइन । सहिष्ण पनि छैन ।’, डा. महतले अघिल्लो निर्वाचनमा नेकपाले पाँचवर्षे म्यानडेट प्राप्त गरेपनि त्यसलाई जोगाउन नसकेको बताए ।

‘पाँचवर्षे म्यानडेट प्राप्त नेकपा फुटेर अहिले तीन टुक्रा भएको छ । त्यसमध्ये दुईवटा दल अहिले हामीसँग गठबन्धनमा हुनुहुन्छ ।’, उनले देशमा विकासको गति बढाउन गठबन्धनले जित्न जरुरी रहेको औंल्याए । उनले मिश्रित निर्वाचन प्रणाली भएका कारण कुनै पनि दलको बहुमत नआउने भएका कारण गठबन्धन गर्नुपरेको बताए । ‘चुनावपश्चात् गठबन्धन गर्नुभन्दा अहिले लय मिलेकै समयमा गरौं भनेर अगाडि बढेका हौं ।’, उनले थपे ।