२०८१ बैशाख २०, बिहीबार    

लालपुर्जा पाउँदा बकैयावासी खुसी

२०८० श्रावण ७, आईतबार ०९:३३ बजे

३० वर्षपछि जग्गाधनी पुर्जा पाउँदा शुक्रबहादुर भुलुनका आँखाबाट खुसीका आँसु झरे । खुसीले उनले आँसु थाम्नै सकेनन् । यो पुर्जा पाउनका लागि वर्षौंदेखि निकै सास्ती बेहोर्नु परेको उनको अनुभव छ ।

२०५० सालदेखि उनले यही जग्गामा रगत र पसिना बगाएका थिए । तर पनि उनको नाममा जग्गा थिएन ।

६० वर्ष पार गरिसकेका भुलुनले वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री सालिकराम जम्कट्टेलको हातबाट शनिबार एक समारोहबीच जग्गाधनी पाउँदा उनी दंगमात्र परेका थिएनन्, गहभरी आँसु जम्मा भएको थियो ।

साविकको छतिवन गाविस र हालको बकैया गाउँपालिका-५ राजदमारमा आयोजित लालपुर्जा वितरण कार्यक्रममा उनले जग्गाधनी पुर्जा पाएका थिए । तर आफ्नै जीवनमा जग्गाको लालपुर्जा पाइएला भन्ने नसोचेको बताउँछन् उनी ।

३० वर्षको अन्तरालमा धेरै सुकुम्वासी आयोग बने तर उनले लालपुर्जा पाउन भने सकेका थिएनन् । भुलुनसँगै ५५ वर्षीया सुशीला विश्वकर्माले पनि यसपटक आफैं बसेको घर जग्गाको लालपुर्जा पाइन् । मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बकैया गाउँपालिका—५ का भूमिहीन सुकुम्वासी र भूमिहीन दलितहरुलाई शनिबार लालपुर्जा वितरण गरिएको थियो ।

राष्ट्रिय भूमि आयोग मकवानपुरले दलित र तामाङ समुदायका ११ जनालाई शनिबार एक समारोहबीच जग्गाधनी पुर्जा प्रदान गरेको थियो । जग्गाधनी पुर्जा हातमा परेपछि खुसीले गदगद भएर ५५ वर्षीया विश्वकर्माले भनिन्, ‘लालपुर्जा नपाइकन मरिन्छ कि जस्तो लागेको थियो, तर अहिले पुर्जा हातमा परेपछि असाध्यै खुसी लाग्यो ।’

सोही ठाउँका कान्छीमाया पुलामी, फूलमाया भुलुनलगायत ११ जनाले सरकारबाट एकै पटक लालपुर्जा पाएका हुन् । जमिन खनजोत गरेको ३०/३५ वर्षसम्म पनि लालपुर्जा नपाएका उनीहरूले पहिलो पटक पुर्जा पाएपछि खुसी लागेको प्रतिक्रिया दिएका छन् ।

भुमि आयोग मकवानपर र बकैया गाउँपालिकाद्वारा अयाोजित कार्यक्रमका प्रमुख अतिथि एवं वाग्मती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले भूमिहीनहरुलाई भूमि आयोगतमार्फत प्रदेश सरकारले भूमिको स्वामित्व उपलब्ध गराउने बताए ।

अब बकैयाका सबै भूमिहीन सुकुम्वासीहरुले जग्गाको लालपुर्जा पाउनेसमेत उनले जानकारी दिए । बकैया गापाका ६५ प्रतिशत भन्दा बढी बासिन्दा लालपुर्जाविहीन छन् । झण्डै ५ दशकभन्दा बढी खनजोत गरेको जग्गा जमिनको उनीहरुले लालपुर्जा पाउन सकेका छैनन् ।