२०८० चैत्र १५, बिहीबार    

आज अर्जेन्टिना र क्रोएसियाको भिडन्त

२०७९ मंसिर २७, मंगलबार ०८:५३ बजे

दुई घन्टाभन्दा बढी चलेका सनसनीपूर्ण खेलपछि पेनाल्टी सुटआउटमा जित हात पारेका दुई टिम अर्जेन्टिना र क्रोएसियाबीच विश्वकप २०२२ को पहिलो सेमिफाइनल लुसेल रंगशालामा मंगलबार हुँदै छ ।

चार वर्षअघिको उपविजेता क्रोएसियाले फेरि फाइनल खेल्ने हो भने सुपर स्टार लियोनल मेसीलाई रोक्न अनिवार्य छ । किनभने अर्जेन्टिनाको खेल कप्तान मेसीमै निर्भर छ ।

कतार संस्करणमा दर्शकमाझ सबैभन्दा लोकप्रिय टिम अर्जेन्टिना नै हो । यसको मुख्य कारण पनि मेसी नै हुन् । ब्राजिलको यात्रा क्वाटरफाइनलमै सकियो । त्यसैले सबैभन्दा बढी समर्थक भएको र रंगशालामा माहोल तताएको अर्को टिम बनेको छ मोरक्को । सेमिफाइनल पुगेको पहिलो अफ्रिकी टिम मोरक्कोले अर्को फाइनल प्रवेशका लागि बुधबार अल बायत रंगशालामा डिफेन्डिङ च्याम्पियन फ्रान्सको सामना गर्दै छ । त्यसअघि नै मेसीको टिम अर्जेन्टिना फाइनल यात्रा तय गर्दै उपाधि नजिक पुग्न चाहन्छ ।

फुटबलले पाएको सर्वकालीन महान् खेलाडीमध्येका एक मेसी पाँचौं प्रयासमा पहिलोपल्ट विश्वकप उपाधि जितेर आफ्नो करिअर सार्थक पार्न चाहन्छन् । उनको टिम विश्वविजेता नभएको पनि ३६ वर्ष भइसकेको छ । उनलाई विश्वकप ट्रफीले सन् १९८६ को च्याम्पियन डिएगो म्याराडोनाको स्तरमा उभ्याउन सक्छ ।

पहिलो खेलमै साउदी अरेबियाविरुद्ध अनपेक्षित हार बेहोरेपछि ३५ वर्षीय मेसीकै उत्कृष्ट प्रदर्शनमा मेक्सिको, पोल्यान्ड, अस्ट्रेलिया र नेदरल्यान्ड्सको चुनौती पन्छाउँदै अर्जेन्टिना सेमिफाइनमा उभिएको हो । मेसी चार गोलसहित गोल्डेन बुटको होडमा फ्रान्सका केलियन एमबाप्पेभन्दा एक गोलले पछाडि छन् । रुसमा गोल्डेन बल अवार्ड जितेका प्लेमेकर लुका मोड्रिचले ३६ वर्षको उमेरमा पनि उत्कृष्ट लय कायमै राखेपछि क्रोएसिया समूह चरणमा मोरक्को र बेल्जियमविरुद्ध गोलरहित खेले पनि क्यानडालाई ४–१ ले हराएर अगाडि बढेको थियो । उसले अन्तिम १६ मा जापान र क्वाटरफाइनलमा ब्राजिललाई पछाडि परेको स्थितिमा गोल गरेर बराबरी गर्दै टाइब्रेकरमा जित हात पारेको थियो । अपत्यारिलो किसिमले मिडफिल्डमा छाउने गरेका मोड्रिच र कुनै पनि बेला खेलको नतिजा उल्टाउन सक्ने मेसीको प्रतिस्पर्धा पनि हुनेछ पहिलो सेमिफाइनल ।

रेफ्रीले १८ वटा कार्ड देखाएको अन्तिम आठको प्रतिस्पर्धामा अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई पराजित गरेको थियो । क्रोएसियाले कीर्तिमान पाँचपल्टको च्याम्पियन तथा यसपालि प्रतियोगितापूर्व सबैभन्दा बलियो मानिएको ब्राजिललाई क्वाटरफाइनलबाटै घर फर्काइदियो ।

दुईपल्टको च्याम्पियन अर्जेन्टिना र क्रोएसियाबीच विश्वकपमा विगत भेट पनि रोचक छ । दुवैले एक–एक खेल जितेका छन् । अर्जेन्टिनाले सन् १९९८ को विश्वकपको समूह चरणको भेटमा १–० को जित हात पारेको थियो भने क्रोएसियाले मेसीको टिमलाई रुस (सन् २०१८) मा ३–० ले हराएको थियो ।

यी दुईवीच भएका पाँच अन्तर्राष्ट्रिय खेलमा दुवैले दुई–दुई खेल जितेका छन् । एक खेल बराबरीमा टुंगिएको छ । यी तथ्यांकले पनि अर्जेन्टिना–क्रोएसियाको प्रतिस्पर्धा रोमान्चक हुने संकेत गर्छ र अर्जेन्टिनाको घरेलु मैदानजस्तै भएको लुसेलमा मंगलबारको खेल पनि आकर्षक र स्तरीय हुने अपेक्षा गरिएको छ । लुका मोड्रिचले पनि गोल गरेका निज्नी नोभ्गोरोद (रुस) को खेलपछि यी दुई टिम पहिलोपल्ट भिड्न लागेका हुन् ।

युरोपेली टिम क्रोएसिया तेस्रोपल्ट सेमिफाइनलमा पुगेको हो । टोलीले २४ वर्षअघि आयोजक फ्रान्सविरुद्ध २–१ को हार बेहोरेको थियो भने २०१८ को संस्करणमा इंग्ल्यान्डमाथि अतिरिक्त समयमा २–१ को जित हात पारेको थियो । तर, विश्वविजेता बन्ने क्रोएसियाको सपनालाई मस्कोमा फ्रान्सले फाइनल ४–२ ले जितेर तुहाइदिएको थियो ।

अर्जेन्टिनाले यसअघि खेलेका चारै सेमिफाइनल जितेको छ । यसक्रममा दक्षिण अमेरिकी महारथीले अमेरिकालाई ६–१ (सन् १९३०), बेल्जियमलाई २–० (१९८६), इटालीलाई १–१ को बराबरीपछि टाइब्रेकरमा ४–३ (१९९०) र नेदरल्यान्ड्सलाई गोलरहित बराबरीपछि टाइब्रेकरमा ४–२ (२०१४) ले हराएको थियो ।