२०८१ बैशाख ८, शनिबार    

ओझेलमा संस्कृत विद्यालय : २ कोठामा २१ जना सुत्नुपर्ने अवस्था

२०७९ असार ९, बिहीबार १८:०६ बजे

आधुनिकीकरण र बदलिँदो शिक्षा प्रणालीका बीच नेपालको पुरानो गुरुकुल शिक्षा अर्थात् संस्कृत विद्यालयहरू ओझेलमा पर्न थालेका छन् ।

हेटौंडा– १० स्थित गोरक्षेस्वर तटमा रहेको संस्कृत वेद विद्यालय पनि त्यसैगरी ओझेलमा परिरहेको छ । २०५६ सालमा स्थापना भई निरन्तर संस्कृत पठनपाठन हँुदै आएको विद्यालयमा अहिले बिहान–बेलुका खानाको व्यवस्था गर्न र बस्नकै लागि समस्या रहेको विद्यालयका शिक्षक विष्णुप्रसाद भट्टराईले बताए । विद्यालयमा हाल २१ जना विद्यार्थीहरू कक्षा ४ देखि ८ सम्म पढ्दै आएता पनि उनीहरूलाई व्यवस्थित खानपान एवं बस्नका लागि नै समस्या भएको भट्टराईले बताए । उनले भने, ‘२ वटा कोठा छ, २१ जना च्यापिएर सुत्नु तथा बस्नुपर्ने बाध्यता छ ।’

प्रचीनकालदेखि चलिआएको संस्कृत शिक्षाप्रति सरकारको खासै चासो नदेखाएको उनले बताए । विद्यालय ढलपल–ढलपल गर्दै सञ्चालन भइरहेको उनले बताए । विद्यालयका प्राध्यापक साधुराम पोखरेलले संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले संस्कृत विद्याप्रति बेवास्ता गरेको बताए । पोखरेलले भने, ‘विद्यालयमा मुख्य समस्या भनेको नै खानपान रहेको हो । बिहान–बेलुकाको खाना, बिहान दिउँसोको खाजा पूर्णरूपमा अरूको भरमा छ । विद्यालयको आफ्नै अन्य कुनै आयस्रोत छैन ।’

सरकारले खानपान र व्यवस्थित बासस्थानका लागि सहयोग गनुपर्ने उनले बताए । संस्कृत विद्यालय अन्य विद्यालय जस्तो नरहेको र यसको आफ्नै छुट्टै मूल्यमान्यता एवं नियम रहेकाले विद्यालयको छात्रावासमै बस्नुपर्ने उनले बताए । अध्ययनका लागि आउने विद्यार्थीलाई समेत फिर्ता पठाउने पर्ने अवस्था आएको उनको गुनासो छ ।विद्यालयमा संस्कृत भाषा, कर्मकाण्ड र पूजापाठसँगै सामाजिक, अंग्रेजी, गणित लगायतका ८ विषय पढाइ हुँदै आएका छन् ।

मकवानपुर जिल्लाको एक मात्र संस्कृत विद्यालयमा निजी स्रोतका ३ जना शिक्षक मात्र छन् । विद्यालयमा संस्कृत विषयका लागि २ जना शिक्षकको दरबन्दी भएपनि हालसम्म सरकारले शिक्षक पदपूर्ति गर्न सकेको छैन ।