२०८१ चैत्र ७, बिहीबार    

खस्कियो मकवानपुरको शिक्षा, दोषी को ?

२०८१ असार १३, बिहीबार १६:४९ बजे

मकवानपुर जिल्लाको शिक्षाको अवस्था असाध्यै कमजोर अवस्थामा पुगेको देखिएको छ ।

विहीबार प्रकाशित भएको एसईईको नतीजा अनुसार जिल्लाको शैक्षिकस्तर असाध्यै कमजोर देखिएको हो । एसईईको नतीजा अनुसार शिक्षाको नजीता राष्ट्रियस्तरमा ४७.०८ प्रतिशत रहेकामा मकवानपुरमा दशप्रतिशतले कमी देखिएको छ । जिल्लाबाट परीक्षामा सहभागी ५ हजार ७ सय ५२ जनामध्ये २ हजार ९८ जना मात्र विद्यार्थी उत्तीर्णहुँदै ११ कक्षामा भर्ना हुन योग्य भएको छन् ।

जिल्लामा सहभागी विद्यार्थीको आधारमा ३६.४७ प्रतिशत मात्र उत्तीर्ण भएका छन् । जुन असाध्यै कमजोर हो । ‘विद्यार्थी उत्तीर्णको हिसावले मकवानपुर जिल्ला असाध्यै कमजोर देखियो ।’, शिक्षा विकास तथा समन्वय इकाईं मकवानपुरका प्रमुख दिनानाथ गौतमले भने ।

उनले विद्यार्थीमा पढाई सीप र अध्ययन तथा शिक्षकले कक्षामा विताउने समयमा कमी आएका कारण यस्तो अवस्था देखिएको हो । उनले विद्यालयमा पर्याप्त विषयगत शिक्षकको दरबन्दी नहुँदा पनि नतीजामा त्यसले असर पारेको बताए ।

‘कोरोना भाइरसको समेत प्रभाव अहिले देखियो । हामीले लगातार दुईवर्ष परीक्षाविनै विद्यार्थी पास गरेको थियौं । अहिले त्यसको असर देखियो ।’, उनका अनुसार गतवर्ष नटग्रेडेड आधारमा नतीजा प्रकाशित गर्दा जिल्लाका ९२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

जिल्लाबाट एसईईमा सहभागी ३ हजार ६ सय ५४ जना विद्यार्थी कक्षा ११ भर्ना नपाउने (नन ग्रेडेड– एनजी) भएका छन् । मकवानपुर जिल्लाबाट जीपीए ३.६ देखि ४ सम्म हासिल गर्ने २ सय ५८ जना, जीपीए ३.२ देखि ३.६ हासिल गर्ने ५ सय ९२ जना, जीपीए २.८ देखि ३.२ हासिल गर्ने ७ सय ६५ जना, जीपीए २.४ देखि २.८ हासिल गर्ने ४ सय ५१ जना, जीपीए २.० देखि २.४ हासिल गर्ने ३२ जना रहेका छन् ।