२०८१ बैशाख १४, शुक्रबार    

बैंकहरूको नगद लाभांश वितरणमा लगाइएको सीमा हट्यो

२०७९ श्रावण १८, बुधबार १४:०९ बजे

बैंकहरुलाई नगद लाभांश वितरणमा लगाइएको सीमा हटेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै नगद वा सेयर लाभांश वितरणमा स्वतन्त्र छाडेको हो । हाल बैंक तथा वित्तीय संस्थाहरुले खुद वितरणयोग्य नाफाबाट ३० प्रतिशतसम्म मात्रै नगद लाभांश दिन पाउने व्यवस्था  थियो ।

त्यस्तै खुद वितरणयोग्य नाफा कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएका बैंक तथा वित्तीय संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांश वितरण गर्न नपाउने व्यवस्था थियो । यी दुबै व्यवस्था हटेसँगै बैंक संचालक समितिले अब लाभांश वितरण गर्दा कुल लाभांशको मादपण्ड पूरा गरी नगद र सेयर बोनसमध्ये कुन लाभांश कति दिने भन्नेमा स्वतन्त्र निर्णय लिन सक्नेछ ।

यो व्यवस्थाले अब बैंकहरुले लाभांश वितरण गर्दा विगतका वर्षमा भन्दा नगद लाभांश बढाउने छन् भने सेयर लाभांश घटाउन सक्नेछन् । सीमा कायम गरिएकै कारण गत वर्ष बैंक तथा वित्तीय संस्थाहरुले लगानीकर्तालाई नगदभन्दा सेयर बाेनस धेरै दिएका थिए ।