२०८१ बैशाख १२, बुधबार    

कपडा उद्योग निजी क्षेत्रलाई दिने तयारी

२०७९ श्रावण १६, सोमबार १४:०७ बजे

सरकारी स्वामित्वको हेटौँडा कपडा उद्योग निजी क्षेत्रलाई दिन संघीय सरकारले प्रक्रिया अघि बढाएको छ । २१ वर्षअघि बन्द भएको हेटौँडा औद्योगिक क्षेत्रस्थित कपडा उद्योग नयाँ मोडालिटीमा पुनः सञ्चालनका लागि निजी क्षेत्रलाई दिन सरकारले प्रक्रिया अघि बढाएको हो । 

चालू आर्थिक वर्ष ०७९/८० को बजेटमा हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गरिने र निजामती कर्मचारी, प्रहरी, सशस्त्र र सेनाको पोसाक उद्योगबाट उत्पादन गरिने उल्लेख गरिएको छ । बजेटमा उल्लेख गरिएको योजना सरकारी स्तरबाट अघि नबढ्ने भएपछि निजी क्षेत्रलाई जिम्मा दिने तयारी सरकारले गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग निजी क्षेत्रलाई दिन र सरकारले बनाउने मोडालिटी अन्तिम चरणमा पु¥याइसकेको मन्त्री दिलेन्द्रप्रसाद बडूले बताएका छन् ।

बिहीबार कपडा उद्योगको स्थलगत अवलोकन गरेका मन्त्री बडूले यस्तो जानकारी दिएका हुन् । ‘सरकार कपडा उद्योग निजी क्षेत्रलाई जिम्मा दिन तयार छ । निजी क्षेत्रलाई दिने उद्देश्यले सरकारले कपडा उद्योगबारे बजेटमा केही विषय समेटेको हो,’ उनले भने, ‘निजी क्षेत्रलाई दिने प्रक्रिया, सञ्चालनको मोडालिटी र आवश्यक अन्य विभिन्न प्रक्रियालाई मन्त्रालयले तीव्रता दिइरहेको छ । र, सञ्चालनको मोडालिटी निर्माण अन्तिम चरणमा छ ।’

मन्त्री बडूले उद्योग सञ्चालनको जिम्मा लिन इच्छुक निजी क्षेत्रलाई मन्त्रालयमा प्रक्रियाका लागि जानकारी लिन र आवश्यक प्रक्रियामा सहभागी हुन आग्रहसमेत गरेका छन् ।