२०८० चैत्र १६, शुक्रबार    

कार्यालयहरुबाट नागरिकले सहजै सूचना पाउने वातावरण बनाइने :कानूनमन्त्री खनाल

२०७९ असार २०, सोमबार १३:०७ बजे

वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रदेशका सबै मन्त्रालय र सरकारी तथा मातहतका अन्य कार्यालयहरुबाट नागरिकले सहजै सूचना पाउने वातावरण बनाइने बताएका छन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा हेटौंडामा आयोजित सूचनाको हक प्रर्वद्धन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले संघीयताको मर्म अनुसार प्रदेशमा पनि प्रदेश सूचना पुनरावेदन समिति गठन गरिएको बताए ।

‘कार्यालयले गरेका काम कारवाहीबारे नागरिकहरु सुसूचित हुनुपर्दछ । सूचना लिन आएका नागरिकहरुलाई सूचना अधिकारीले दिन मिल्नेसम्म सूचना सहजै उपलब्ध गराउनुपर्दछ । हामी बागमती प्रदेशभरका कार्यालयहरुमा सूचना दिने अधिकारी भरपर्दो र व्यवहारिक बनाउने सन्दर्भमा अभिमुखिकरण गर्नेछौँ ।’ मन्त्री खनालले भने ।

कार्यालय प्रमुखले आफ्नो कार्यालयको सूचना डेक्स प्रविधिमैत्री बनाउने, सूचना अधिकारीलाई आवश्यकताको आधारमा अन्य कामको बोझ कम गराउनेलगायतका कार्यमा ध्यान दियौँ भने कार्यालयको सूचना प्रवाह प्रभावकारी हुने उनको भनाई छ ।

कार्यक्रममा प्रदेश सरकारले गठन गरेको सूचना पुनरावेदन समितिको संयोजक र सदस्यहरु सार्वजनिक गरिएको थियो । समितिको संयोजकमा हरिप्रसाद अधिकारी तथा सदस्यहरुमा सम्झना हुमागाईँ र कृष्ण थापा मगर रहेका छन् । कार्यक्रममा कानून मन्त्रालयका मदन शिवाकोटी र समितिका संयोजक अधिकारीले सूचनाको हकको विषयमा सहभागिहरुलाई जानकारी गराएका थिए । सो अवसरमा विभिन्न कार्यालयका प्रमुख, सूचना अधिकारी र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।