२०८१ बैशाख १८, मंगलबार    

वाग्मती प्रदेशसभा बैठक बस्दै

२०७९ असार १४, मंगलबार ०९:०५ बजे

वाग्मती प्रदेशसभाको बैठक मंगलबार पनि बस्दैछ । प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमाथी छलफल गर्न मंगलबार बिहान ११ बजे प्रदेशसभाको बैठक बस्न लागेको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध हटेसँगै सोमबारबाट प्रदेशसभामा सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमाथी छलफल सुरु भएको छ । सोमबार बसेको बैठकमा ९ वटा विषयगत मन्त्रालयहरुको बजेटमाथी छलफल भएको थियो । बैठकमा सत्तापक्षले सरकारले ल्याएको बजेट जनमुखी भएको भन्दै स्वागत गरेका थिए भने प्रतिपक्षले सरकारले चुनावलक्षित असन्तुलित बजेट ल्याएको भन्दै विरोध गरेका थिए ।

प्रतिपक्षी दल एमालेले बजेटमा व्यवसायीलाई फाइदा पुग्ने गरी करको दर निर्धारण गरेको, चुनाव केन्द्रित बजेट ल्याएको,एउटै योजना बजेट पुस्तिकामा धेरै स्थानमा दोहोरिएको र विगतको सरकारले ल्याएका बृहत प्रकारका योजनाहरु कटौती गरेको आरोप छ ।